न्यायिक प्रक्रियामा भरोसा राख्न प्रधानमन्त्री हसिनाको आग्रह, विद्यार्थी हत्यामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता

न्यायिक प्रक्रियामा भरोसा राख्न प्रधानमन्त्री हसिनाको आग्रह, विद्यार्थी हत्यामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता

एजेन्सी : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशको न्यायिक व्यवस्थामाथि भरोसा राख्न आन्दोलनरत विद्यार्थीहरूलाई आग्रह गरेकी छन्।

बंगलादेशलाई स्वतन्त्रताका लागि योगदान दिएका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिएको विरोधमा भएको प्रदर्शनमा तीन विद्यार्थीसहित ६ जनाको मृत्यु भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।

‘म सबैलाई फैसला आउने बेलासम्म धैर्यतापूर्वक प्रतिक्षा गर्न आग्रह गर्दछु। मलाई विश्वास छ कि विद्यार्थीहरूलाई सर्वोच्च अदालतले न्याय दिनेछ। उनीहरू निराश हुनुपर्ने छैन,’ उनले भनिन्, ‘मुक्ति संग्रामको भावनामा हामी सबैको सहयोगमा आफ्नो मातृभूमिलाई एक स्मार्ट बंगलादेश बनाउनेछौँ।’

हसिनाले आरक्षणविरोधी प्रदर्शनमा क्रममा मृत्यु भएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदनासमेत प्रकट गरेकी छन्। उनले विद्यार्थीहरूलाई खराब स्थितिको फाइदा उठाउने मौका नदिन समेत आग्रह गरेकी छन्।

‘सरकारले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ। सर्वोच्चको सुनुवाइको मिति ७ अगस्टका लागि  तोकिसकिएको छ। अदालत विद्यार्थीको कुरा सुनेर कानूनी माध्यमबाट समस्याको समाधान। त्यसैले खराब स्थितिको फाइदा उठाएर हुने आपराधिक गतिविधिलाई प्रोत्साहित नगरौँ।’

विरोध प्रदर्शनको फाइदा उठाएर केही वर्गले आफ्नो महत्वकांक्षा पूरा गर्न आपराधिक गतिविधिमा लागेको उनको भनाइ छ। उनले विद्यार्थीको मृत्युको घटनाको निन्दा समेत गरेकी छन्।

आरक्षण सुधारको विरोध प्रदर्शनमा सहभागीहरूको अपराधसँग कुनै सम्बन्ध नभएको दाबी गर्दैै उनले विरोध प्रदर्शनमा घुसपैठ भएको बताएकी छन्। सोही घुसपैठका लागि छ जनाको मृत्यु भएको उनको भनाइ छ।

उनले भनिन्, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु- हत्या, लुटपाट र आपराधिक गतिविधिमा संलग्नहरू जो कोही भएपछि उनीहरूविरुद्ध कडा कानूनी कदम उठाइन्छ। म पीडितको परिवारलाई आवश्यक सहायताको समेत प्रबन्ध गर्नेछु।’

साथै उनले न्याय सुनिश्चित गर्नका लागि न्यायिक छानबिन गरिने बताइन्। उक्त छानबिनले देशलाई हिंसात्मक स्थितिमा पुर्याउन विद्यार्थी र जनतालाई भड्काउनेहरूको पहिचान हुने उनको विश्वास छ।

प्रधानमन्त्री हसिनाले प्रदर्शनकारी विद्यार्थीको सुरक्षालाई लिएर चिन्तित भएको बताउँदै अपराधीहरूले कुनै पनि समयमा संघर्षको वातावरण बनाएर क्षति पुर्याउन सक्नेतर्फ सचेत गराइन्। यसका साथै उनले अभिभावकहरूलाई पनि आफ्ना सन्तानको सुरक्षाका लागि सतर्क रहन आग्रह गरेकी छन्।

आरक्षणविरोधी प्रदर्शनका कारण मंगलबारदेखि बंगलादेशको माहोल बिग्रिएको छ। प्रदर्शनमा छ जनाको मृत्यु भएपछि ढाकास्थित नेपाली दूतावालसे त्यहाँ रहेका नेपाली विद्यार्थीहरूका लागि इडभाइजरी जारी गरेको थियो।

साउन २, २०८१ बिहीबार ०९:०६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।