पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना
फाइल तस्बिर

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण आज विहानैदेखि देशभर वर्षा भइरहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको अवस्थामा अहिले गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, कोशी, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयबाट बच्न सबैमा आग्रह गरेको छ।

साउन २, २०८१ बिहीबार ०७:१७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।