...अनि विष्णु पौडेल कसरी सफल अर्थमन्त्री ?
काठमाडौं : कांग्रेस र एमालेबीचको समीकरणमा बनेको सरकार समेत गरेर एमाले नेता विष्णु पौडेल चौथो पटक अर्थमन्त्री बने। नीति उस्तै अनि आर्थिक माहौल पनि उस्तै भए पनि उनी अर्थमन्त्री बने लगत्तै शेयर बजारमा हरियाली छायो।
बुधवार नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३ सय ६४.६३ विन्दुमा पुगेर बन्द भयो। कारोबार रकम १२ अर्ब नाघ्यो। मङ्गलवार नेप्से परिसूचक ७० दशमलव १८ अङ्कले बढेर २३ सय १० को विन्दु कायम भएको थियो। मङ्गलवार ९ अर्ब ७ करोड बढीको कारोबार भएको थियो।
वर्षमान पुनको स्थानमा विष्णु पौडेल आए पनि न शेयर बजारलाई सकारात्मक प्रभाव पार्ने नयाँ नीति बनेको छ न त पुरानो कुनै नीति खारेज भएको छ। सुस्त आर्थिक वृद्धिदर , उत्पादनमूलक क्षेत्रमा निराशालाग्दो लगानी र उत्पादन, सेवा क्षेत्रमा अत्यधिक लगानी, रोजगारीकै लागि युवा पलायन, रित्तिँदो विश्वविद्यालयका कक्षा, चरम लापरबाही सहित सुस्त स्वास्थ्य सेवा, निराश लाग्दो कर्जा प्रवाह, उच्च व्यापार घाटाको अवस्था कायमै छ।
तर सेयर बजारमा आएको उछाललाई देखाएर सक्षम व्यक्ति अर्थमन्त्री भएकाले त्यसको प्रभाव सेयर बजारमा परेको दाबीहरू बढिरहेका छन्। तर यो उछाल प्राकृतिक भने देखिँदैन। बजेटको अवस्था उस्तै छ। बजारको गति पनि उस्तै छ। तर सेयर बजार उस्तै छैन। किन?
न निर्यात बढेको छ न विकास खर्च नै बढ्न सकेको छ। अर्थतन्त्र चलायनमा हुन सकेको छैन। तर एक तप्का सधै अहो विष्णु पौडेल आएपछि त भन्दै कृतिम माहोल बनाउन सक्रिय भइहाल्छन्। यस पटक पनि त्यसको प्रारम्भ भइसक्यो सेयर बजारको उछाल देखाएर।
सेयर बजार रातोबाट हरियो हुनु नै पौडेल अर्थतन्त्रका जानकार र सक्षम अर्थमन्त्रीको प्रमाण हो? उनी अर्थमन्त्री हुँदाका अर्थतन्त्रको अवस्था केलाऊँ।
मूल्य वृद्धिमा छैन नियन्त्रण
पहिलो पटक नेपालको संविधान जारी भएपछि केपी ओली नेतृत्वको सरकारमा २०७२ असोज देखि २०७३ साउनसम्म पौडेल अर्थमन्त्री बनेका थिए।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा वार्षिक मुद्रास्फीति दर ८.५ प्रतिशत रहने प्रक्षेपण गरिएकोमा उपभोक्ता मुद्रास्फीति दर ९.९ प्रतिशत भयो। अघिल्लो वर्ष यस्तो मुद्रा स्फ्रीती दर ७.२ प्रतिशत थियो।
वार्षिक विन्दुगत आधारमा त झन् उपभोक्ता मुद्रास्फीति दर २०७३ जेठ महिनामा ११.१ प्रतिशत थियो। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ११.९ प्रतिशत, गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर १०.५ प्रतिशत थियो।
जब की २०७२ साउन अर्थात् पौडेल अर्थमन्त्री हुनु भन्दा दुई महिनाअघि खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ९.५ प्रतिशत, गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ५.५ प्रतिशत थियो। पौडेल अर्थमन्त्री भएपछि दैनिक उपभोग्य सामाग्रीको मूल्य झन्डै साढे दुई प्रतिशतले बढेको देखिन्छ।
यो बेला भारतले नेपाललाई नाकाबन्दी लगाएको थियो। कोरोनाकालमा भने उपभोक्ता मूल्य वृद्धिदर ४.१९ प्रतिशत रहे पनि सामान्य अवस्थामा पौडेलले मूल्य वृद्धि दर रोक्न सकेको देखिँदैन।
तेस्रो कार्यकाल २०७९ पुस देखि २०७९ फागुनसम्म अर्थमन्त्री पदमा रहँदा पौडेलले ७ प्रतिशत मुद्रा स्फीति दर राख्ने भनेता पनि ८ प्रतिशत पुगेको थियो। वस्तु तथा सेवामा मुद्रास्फीति (मूल्य वृद्धि ) हुनु भनेको आम मान्छेको भान्सा महँगो हुनु हो।
कोरोनाकाल र नाकाबन्दीमा लामो समय अर्थमन्त्री बनेकाले उनलाई शङ्काको लाभ त दिन सकिएला तर तेस्रो पटक अर्थमन्त्री हुँदा समेत मूल्य नियन्त्रणमा ठोस कार्ययोजना ल्याएको सकेको भने देखिएन। यसले उनका प्रशंसकहरूले गर्ने ‘अर्थतन्त्रका जानकार’ को दाबीमा प्रश्न उठाउने नै भयो।
अन्य अर्थमन्त्री जस्तै विकास खर्च गर्नै नसक्ने
पौडेल पहिलो पटक २०७२ असोजमा अर्थमन्त्री बने। असारमा बजेट आइसकेकाले विनियोजित बजेटलाई सही तरीकाले खर्च गर्ने जिम्मा उनैलाई थियो। संविधान आउनुअघि बजेट प्राय: असार मसान्तमै आउँथ्यो।
आर्थिक वर्ष २०७२/७३ का लागि बजेट विनियोजन भइसकेको थियो। तर अन्य आर्थिक वर्षमा जस्तै पौडेलले पुँजीगत खर्च अर्थात् विकास बजेट खर्च गर्न सकेनन्।
२०७२/७३ को बजेट हेरौं,
नेपाल सरकारले ८ खर्ब १९ अर्बको बजेट सार्वजनिक गरेको थियो। यसमध्ये पुँजीगत खर्च २ खर्ब ९ अर्ब र चालु खर्च ४ खर्ब ८४ अर्ब रहने अनुमान गरिएकोमा २०७३ असार २४ सम्म नगद प्रवाहमा आधारित पुँजीगत खर्च ३३.२ प्रतिशत र चालू खर्च ६५.१ प्रतिशत मात्र भयो।
पुँजीगत अर्थात् विकास खर्च न्यून हुनु विकास निर्माणका काम न्यून हुनु हो। अर्थतन्त्र चलायमान बनाउन जतिसक्दो पुँजीगत खर्च गर्नुपर्ने भए पनि अर्थमन्त्री पौडेल अर्थमन्त्रीको पहिलो कार्यकालमा सफल भएनन्।
अर्थमन्त्रीको दोस्रो कार्यकालमा पनि असोज देखि नै सुरु भयो। २०७७ असोजमा उनले एमालेका नेता युवराज खतिवडाले ल्याएको बजेट कार्यान्वयन गर्ने अवसर पाए।
खतिवडाले कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेका थिए। चालुतर्फ ६४.४ प्रतिशत र पुँजीगततर्फ २३.९ प्रतिशत अनि वित्तीय व्यवस्थातर्फ ११.७ प्रतिशत छुट्टाएका थिए। विकास खर्चको ६४ प्रतिशत रकम खर्च भएको थियो भने कुल चालु खर्चमा ९० प्रतिशत खर्च भएको देखिन्छ ।
राष्ट्र बैङ्ककै प्रतिवेदन अनुसार २०७३ असार २४ सम्म सरकारको राजस्व सङ्कलन ४ खर्ब ३४ अर्ब २७ करोड अर्थात् लक्ष्य ४ खर्ब ७५ अर्बको ९१.४ प्रतिशत पुगेको थियो। स्रोत परिचालनको तुलनामा सरकारको खर्च न्यून रहेकोले सरकारी ढुकुटीमा १ खर्ब ९७ अर्ब ११ करोड नगद मौज्दात कायम रहेको औँल्याएको थियो। पौडेलले केही हदसम्म पुँजीगत खर्च पहिलो अर्थमन्त्रीकालमा भन्दा बढाउन खोजे पनि सफल भएनन्। यस अर्थमा अन्य अर्थमन्त्री र उनमा उस्तो भिन्नता देखिएन।
व्यापार घाटा घटाउने छैन कुनै योजना
पौडेल पहिलो पटक अर्थमन्त्री छँदा पनि व्यापार घाटा धेरै नै थियो। केही हदसम्म नाकाबन्दीले आयत र निर्यात कम भएको थियो। तर समग्रमा व्यापार घाटा नै भयो। आर्थिक वर्ष २०७२/७३ को व्यापार पनि घाटामा नै रह्यो। निर्यात ७० अर्ब हुँदा आयत ७ खर्ब ७३ अर्ब बराबर थियो।
पछिल्लो समय सिमेन्ट र छड निर्यात हुन थाले पनि व्यापार घाटा कम हुनेगरी केही उत्पादन भएको देखिएन। उल्टो सामान आयत भइरहेकै छ। आर्थिक वर्ष २०७७-०७८ मा निर्यात ४४.४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब १२ करोड र आयात २८.७ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ८४ करोड पुग्यो। यस अवधिमा वस्तु व्यापार घाटा २७.३ प्रतिशतले बढेको देखिन्छ।
आर्थिक वर्ष २०७८/७९ को वाषिर्क तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ। यो गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा २६.१५ प्रतिशत धेरै हो। सो आर्थिक वर्षमा वैदेशिक व्यापारको आकार १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबर भएको थियो।
वैदेशिक व्यापारमा ९.४३ प्रतिशत निर्यातको हिस्सा रहँदा आयातको हिस्सा ९०.५७ प्रतिशत रहेको छ। व्यापार घाटा उच्च रह्यो। पौडेलसँग यस अघिका कार्यकालमा निर्यात बढाउने र आयत घटाउने कुनै योजना भएको देखिएन। यो मामिलामा पनि उनी अर्थबारे जानकार र अनुभवी भन्ने तर्कमा दम देखिएन।
सेयरको मूल्य बढ्दा हर्ष न विष्मात
सामान्यतया सेयर बजार बढ्न कारण चाहिन्छ। नेपालको हकमा भने आर्थिक कारण भन्दा पनि कुन अर्थमन्त्री हुन्छ भन्नेले सेयरको भाउ उतार चढाव हुन्छ। सेयरको भाउ बढ्न उच्च आर्थिक वृद्धि, नाफा कमाएका कम्पनी, कम ब्याजदर, कम मूल्यवृद्धि, वैदेशिक लगानीमा वृद्धि हुनुपर्ने हो। पौडेल अर्थमन्त्री हुँदा सामान्य अवस्थामा यी सूचांकहरु बढे पनि सेयर बजार ह्वात्तै बढेको देखिन्छ।
पौडेलको पहिलो कार्यकालमा नेप्से ११९० देखि १८८२ अङ्कसम्म पुगेको थियो भने दोस्रो कार्यकालमा नेप्से १५०८ देखि ३१६३ अङ्कसम्म पुगेको थियो। तेस्रो कार्यकालमा नेप्से १८६७ देखि २२१५ अङ्कसम्म पुगेको थियो।
सेयर बजारका जानकारहरू पौडेल आएर सेयर बजार बढ्यो भन्नुको औचित्य नभएको बताउँछन्।
'विष्णु पौडेलले कुनै नीति परिवर्तन गरेर विकासका सूचांकहरु बढेका होइनन्। उनका पालामा सामान्य अवस्थामा जसरी नै सूचांकहरु बढेका हुन्। द्रुत गतिमा आर्थिक विकास भएको देखिँदैन। सबैसँग राम्रै सम्बन्ध राख्ने र अर्थतन्त्रबारे उत्ताउला कुरा नगर्ने कारण बढेको हुन सक्छ। अन्य कारण त देखिँदैन' ती जानकारले उकेरासँग भने।
संरचनामा सुधार कसरी गर्लान् पौडेलले ?
राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क अनुसार गरिबी २० प्रतिशत छ। प्रति वर्ष ७२ हजार भन्दा कम खर्च गर्न सक्ने वर्ग निरपेक्ष गरिबीको रेखाभित्र पर्छन्। कुल जनसङ्ख्याको २० प्रतिशत गरिबी हुनु सामान्य हैन।
संरचनामै सुधार नगरी अनि राज्यको ढुकुटी बलियो बनाएर उपयुक्त दीर्घकालीन योजनाको कार्यान्वयनबाट पनि यो सङ्ख्या घट्ने देखिँदैन। प्राय : प्रत्येक वर्ष लक्ष्य गरे अनुसारको राजश्व सङ्कलन लक्ष्य अनुसार हुन सकेको छैन। सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ७४.४४ प्रतिशत मात्र राजस्व उठायो।
लक्ष्य १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने थियो। आर्थिक वर्षको अन्तिम दिन ३१ असारसम्म १० खर्ब ५८ अर्ब ८९ करोड रुपैयाँ मात्र सङ्कलन भयो। यो गत आर्थिक वर्षको दाँजोमा १०.६१ प्रतिशतले धेरै भए पनि लक्ष्य भेट्न २५.५६ प्रतिशत अपुग हो।
राजश्व सङ्कलन लक्ष्य अनुसार नभएपछि पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समिति बनाएका थिए। गत चैतमा बुझाइएको प्रतिवेदनमा तत्कालीन, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाएर प्रतिवेदन बुझाइएको छ। पौडेलले यो प्रतिवेदनको अपनत्व लिन्छन् कि लिँदैनन् हेर्न बाँकी नै छ।
उनी सेयर बजार बढ्यो भनेर हौसिइसकेका छन्। उनको स्वभाव पनि कृतिम सफलतामा हौसिने नै देखिन्छ। उनी यही कृतिमतामा हौसिएर बस्छन् या सरकारले बनाएको प्रतिवेदनको गहन अध्ययन गरेर कार्यान्वयन गर्दै अर्थतन्त्रमा ब्रेक थ्रु गर्लान्?
साउन २, २०८१ बुधबार २२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।