विश्वप्रसिद्ध आइबिएम विद्यालय कार्यक्रम नेपालमा, कक्षा ५ बाटै सूचना प्रविधीबारे शिक्षा लिन सकिने

विश्वप्रसिद्ध आइबिएम विद्यालय कार्यक्रम नेपालमा,  कक्षा ५ बाटै सूचना प्रविधीबारे शिक्षा लिन सकिने

काठमाडौँ : विद्यालय तहका विद्यार्थीलाई सूचना प्रविधिको शिक्षामा पोख्त बनाउनेगरि आइबिएमले तयार पारेको विद्यालय शिक्षा कार्यक्रम  एसियन ई-लर्निङले नेपाल ल्याएको छ।

सूचना प्रविधि सम्बन्धी प्रविधिको विकास र शिक्षामा विश्वकै लिडिङ कम्पनी आइबिएमको यो शिक्षामा ५ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्।

भारतको प्रविधि शिक्षासम्बन्धी कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा नेपाल भित्रिएको यो शैक्षिक कार्यक्रमले  सूचना प्रविधिबारे विद्यालय तहबाटै जानकार र सूचना प्रविधि क्षेत्रमा सक्षम जनशक्ति निर्माण हुने एसियन इ-लर्निङले जनाएको छ।

यो कोर्समा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन सम्बन्धी शैक्षिक सामाग्री समेटिएको छ।

बुधवार आयोजित कार्यक्रममा एसियन ई-लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले नेपालका निजीदेखि सामुदायिक विद्यालयमा अध्ययनरत विध्यार्थीहरु लक्षित गरेर यो कार्यक्रम नेपाल ल्याइएको हो। सूचना प्रविधिबारे जहाँ जस्तो पूर्वाधार छ त्यसैको उपयोग गर्दै पढाउन सकिने गरी यो कार्यक्रम नेपाल ल्याइएको उनले जानकारी दिए।

'आजका विद्यार्थीले भोलि गएर जुनसुकै क्षेत्रमा काम गरे पनि सूचना प्रविधिको नवीनतम प्रविधिहरूको ज्ञान बिना दक्षता हासिल गर्न सम्भव छैन,' उनले भने' भविष्यमा आइटी क्षेत्रमै करिअर बनाउन चाहनेहरूका लागि यो कोर्स निकै सहयोगी हुन्छ।'

कार्यक्रममा आइबिएम इनोभेसन सेन्टर फर इडुकेशनका व्यापार प्रवर्द्धन प्रमुख हरि रामासुब्रमन्यमले नेपालमा विद्यार्थीका लागि यो कोर्स सुरु गर्न पाउँदा खुसी लागेको बताए।

'यो कोर्स पाठ्यक्रममा आधारित नभई इन्डस्ट्रीमा आधारित भएर तयार गरिएको हो,' उनले भने, 'यो कक्षा ५ देखि आइबिएमको यो कोर्स लिने विद्यार्थी कक्षा १२ सम्म पुगिसक्दा भविष्यको सूचना प्रविधिको श्रम बजारको लागि तयार भइसक्छन्।'

ट्रान्सन्यूरनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिवम् शर्माले भारत, नेपाल जस्ता विकासशील देशमा रहेको सीप र श्रम बजार बिचको खाडल पुर्न यस्ता कार्यक्रमहरू अत्यावश्यक रहेको बताए।

आइबिएम विद्यालय कार्यक्रम नेपालका सल्लाकार डा. सुभाष प्याकुरेलले स्कुलका बालबालिकालाई एकदमै उपयुक्त कार्यक्रम नेपालमा भित्रिएको बताए।

‘सही समयमा सही प्रकृतिको कार्यक्रम भित्रिएको छ। यसबाट नेपाल र नेपालीले विश्व बजारको बौद्धिक वृत्तमा प्रवेश गरी देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सक्नेछन्’, उनले भने। 

एन प्याब्सनका निवर्तमान अध्यक्ष रितुराज सापकोटाले स्नातक तहसम्म पुगेका विद्यार्थीमा पनि एकेडेमिक बढी, सिप कम हुने अवस्था रहेकाले किताबी ज्ञानलाई सिपसँग जोड्ने यस्ता कोर्स बढीभन्दा बढी विद्यार्थीहरूमाझ पुर्याउन सके प्रभावकारी हुने बताए।

सिटीइभिटीका आइसिटी सीप विकास समितिका अध्यक्ष विनोद ढकालले यस्तो कार्यक्रमलाई पैसा कमाउने हिसाबले ल्याएको भनेर नबुझी इनोभेटिभ आइडिया र नेपालमा आइबिएमको कार्यक्रम आउनु एक किसिमको क्रान्ति रहेको बताए।

प्याब्सनका उपाध्यक्ष कुमार घिमिरेले आइबिएिमको यो विद्यालय कार्यक्रमले लोभ्याएको भन्दै आफूहरू सहकार्य गर्न तयार रहेको बताए।

‘यो कोर्स सबै विद्यालयले लिन पाउनुपर्छ। निश्चित वर्गले पाउने अनि फि तिर्न नसक्ने वञ्चित हुने बर्गले विरोध गर्ने अवस्था नबनोस्। सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि सहजै उपलब्ध हुने वातावरणका लागि सरकारलाई घच्घचाउन जरुरी छ’ उनले भने।

कस्तो कार्यक्रम हो?

नेपाल लगायत दक्षिण एसियामै पहिलो पटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरू समावेश छन्। हप्तामा एक देखि डेढ घण्टाको समयमा प्रारम्भिक तहमा मासिक ८ सय ५० र एडभान्स कोर्समा २ हजार १ सय २० रुपैयाँमा अध्ययन गर्न सकिन्छ।

त्रिपाठीका अनुसार आइबिएम स्कुल कार्यक्रम अन्तर्गत पहिलो एक्सप्लोरर, दोस्रो डिस्कभरर र तेस्रो इनोभेटर चरणमा पढाई हुन्छ।

कार्यक्रमभित्र विश्वस्तरको सिकाई सामाग्रीसहित आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा सञ्चालन हुन्छ।
दोस्रो डिस्कभरको चरणमा विद्यार्थीहरूलाई प्रोगामिङमा अब्बल बनाउने प्रयास गरिन्छ। यसभित्र विश्वस्तको सिकाई सामाग्री, आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डस्ट्रीका गेस्ट लेक्चररसहित भर्चुअल ल्याब समेत संलग्न हुन्छन्।

सबैभन्दा माथिल्लो तहको कोर्स  इनोभेटरमा प्लस टु पुगेका विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा नयाँ र सृजनशील उद्यमीका रूपमा स्थापित हुन सघाउनेगरि कोर्सको निर्माण भएको कम्पनीको दाबी छ।

त्रिपाठीले आइबिएमको यो कोर्स विद्यालयमा अतिरिक्त कोर्सको रूपमा प्रयोग गर्न सकिने र यसको लक्ष्य कक्षा १२ को अध्ययन सकिएपछि विद्यार्थीले सूचना प्रविधिमा प्रयोग हुने उपकरण र प्रोग्रामिङ आफैँले निर्माण गर्न सक्ने तहको बनाउने लक्ष्य रहेको बताए।

आइबिएम स्कुल कार्यक्रम के हो?

विद्यालय तहबाटै सूचना प्रविधिबारे जानकार र दक्ष जनशक्ति निर्माणका लागि प्रविधिमा विश्वव्यापी नेतृत्व गरिरहेको आइबिएम कम्पनीले यसको निर्माण गरेको हो। यो कम्पनीले हालसम्म सूचना प्रविधिबारे एक लाख २२ हजार भन्दा बढी उत्पादनको यूएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको छ।

सन् १९८१ मा विश्वमै पहिलो मध्यको पर्सनल कम्प्युटर बजारमा ल्याएको आइबिएमले संसारको सबैभन्दा उच्च गतिका सुपर कम्प्युटरहरू  समेत बनाइरहेको छ।

एआई र मेशिन लर्निङ्ग लक्षित वाट्सन सुपर कम्प्युटर निर्माण गरेर एआई क्षेत्रमा नेतृत्व गरेको आइबिएमका ६ जना बहालवाला तथा पूर्व कर्मचारीले सूचना प्रविधि सम्बन्धी विभिन्न आविष्कारका लागि ६ वटा नोबेल पुरस्कार पाइसकेका छन्।

साउन १, २०८१ बुधबार २०:४६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।