शिक्षामन्त्रीले भनिन्- शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ

शिक्षामन्त्रीले भनिन्- शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा भएको समस्या समाधान गर्न सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएकी छन्। 

बुधबार  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग भएको छलफलमा उनले नीतिगत रुपमा मन्त्रालयले योजना बनाएर अगाडि बढ्ने भन्दै जनतालाई नतिजा दिने अगाडि बढ्ने बताइन्। 

उनले भनिन्, ‘शिक्षा क्षेत्रभित्र रहेका समस्याका बारेमा हामी सबै अवगत नै छौं। व्यवस्थापिका र कार्यपालिकाबीचको सहकार्य र समन्वयबिना जनतालाई केही पनि नतिजा दिन सक्देनौं। त्यसैले व्यवस्थापिका र कार्यपालिकाबीचको सहकार्य आवश्यक हुन्छ।’ 

उनले ऐनको व्यवस्था अनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा कार्य योजना बनाएर अगाडि बढ्ने बताइन्। 

उनले भनिन्, ‘हाम्रो ऐनको व्यवस्था अनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा हामीले कार्य योजना बनाएर अगाडि बढ्नु पर्छ भन्ने मलाई लाग्छ। अनिवार्य नि:शुल्क शिक्षा ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराको खाका मन्त्रालयले बनाउनु पर्छ। यसबारे छलफल भएको छ, यसको कार्यान्वयनको लागि स्थानीय सरकारसँग पनि छलफल गर्छौं। कम्तीमा एक महिनाभित्रमा एउटा खाका दिनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ।’

नेपालको वर्तमान शिक्षण प्रणालीलाई समीक्षा गर्ने सवालमा पाठ्यक्रम, परीक्षा र सिंगो मन्त्रालयको टिमसँग बसेर छलफल गरेको भन्दै यसको बारेमा करिब १५ दिनमा नतिजा निकालेर अगाडि बढ्ने बताइन्। 

उनले भनिन्, ‘नेपालको वर्तमान शिक्षण प्रणालीलाई समीक्षा गर्न जरुरी छ, त्यो समीक्षा गर्ने कुरामा मूल्यांकन प्रणालीलाई कसरी समीक्षा गर्ने भन्ने सवालमा पाठ्यक्रम, परीक्षा र सिंगो मन्त्रालयको टिमसँग बसेर छलफल गर्दै छु यसको बारेमा करिब १५ दिनमा नतिजा निकालेर अगाडि बढ्ने छौं।’

साउन १, २०८१ बुधबार १७:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।