बंगलादेशको हिंसात्मक झडपमा विद्यार्थीको मृत्यु भएपछि नेपाली दूतावासले जारी गर्‍यो एडभाइजरी

बंगलादेशको हिंसात्मक झडपमा विद्यार्थीको मृत्यु भएपछि नेपाली दूतावासले जारी गर्‍यो एडभाइजरी

काठमाडौं : आरक्षणविरुद्धको प्रदर्शनमा बंगलादेशमा तीन विद्यार्थीसहित छ जनाको मृत्यु भएको सन्दर्भमा ढाकास्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूका लागि एडभाइजरी जारी गरेको छ।

बुधबार जारी इडभाइजरीमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

साथै, दूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा दूतावासले दिएको नम्बरमा सम्पर्क र समन्वय गर्न समेत भनेको छ।

दूतावासले सम्पर्क र समन्वयका लागि द्वितीय सचिव योजना बम्जन (+८८०१८८०६९१०१३) र रिया क्षेत्री (+८८०१७४५४०७९५८)को नम्बर उपलब्ध गराएको छ।

दूतावासले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरू एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको समेत जानकारी गराएको छ।

बंगलादेशमा आरक्षणविरुद्धको भएको हिंसात्मक प्रदर्शनमा छ जनाको मृत्यु भइसकेको छ। ठाउँ-ठाउँमा विद्यार्थी र प्रहरीबीच पनि हिंसात्मक झडप भएको छ। झडपमा सयौँ घाइते भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

घटनापछि सरकारले छ वटा जिल्लामा अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेश परिचालन गरेको छ भने सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्।

बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारका अनुसार आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश ‘छात्र लिग’बीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भएको छ।

‘छात्र लिग’ सरकारको योजनाको पक्षमा छ भने बाँकी विद्यार्थी यो आरक्षणले विशेष व्यक्तिहरूलाई मात्र लाभ पुग्ने भन्दै विरोधमा उत्रिएका छन्।

यस्तो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका सन्तानलाई अनुचित रूपमा फाइदा पुर्याउने आलोचकहरूको भनाइ छ।

शेख हसिना जनवरी महिनामा लगातार चौथो निर्वाचनमा विजयी भएकी थिइन्। उनी बंगलादेशका स्वतन्त्रता सेनानी शेख मुजिबुर रहमानकी छोरी हुन्।

बंगलादेशमा विगत केही दिनदेखि सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन भइरहेको छ। विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यसलाई झन् धेरै सशक्त बनाएका थिए।

केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो। गत महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको थियो।

नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि वार्षिक सयौं विद्यार्थी बंगलादेश जाने गर्छन्।

साउन १, २०८१ बुधबार १३:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।