दुई ठूला दल मिलेर सरकार बनाउँदा लगानीकर्तामा उत्साह बढेको छ : महासंघ अध्यक्ष ढकाल

दुई ठूला दल मिलेर सरकार बनाउँदा लगानीकर्तामा उत्साह बढेको छ : महासंघ अध्यक्ष ढकाल
फाइल तस्बिर

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका दुई ठूला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम नागरिकमा उत्साह बढेको बताएका छन्।

महासंघ अध्यक्ष ढकालले राजनैतिक तथा नीतिगत अस्थिरता स्वदेशी तथा विदेशी दुवै लगानी बढ्न नसकेको एउटा प्रमुख कारण रहेको बताउँदै संसदमा रहेका दुई ठुला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्ताहरूमा आत्मविश्वास बढ्ने र आर्थिक गतिविधि बढ्ने अपेक्षा रहेको बताए।

‘अहिले संसदका दुई ठुला राजनैतिक दलहरु मिलेर सरकार निर्माण गरेका छन्,’ उनले भने, ‘यसले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ। अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ।’

ढकालले तीन पटकसम्म मुलुकको नेतृत्व गरिसकेका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास व्यक्त गरे।

ढकालले प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रिपरिषद्लाई पूर्णता दिई परिणाममुखी काम गर्न मन्त्रीहरूलाई दिएको निर्देशनले निजी क्षेत्र लगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश गएको बताए।

‘सरकार गठन प्रकृयामा लामो समय लाग्ने र गठबन्धन दलहरूबीच भागबन्दा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा निकै समय लाग्ने गरेको हाम्रो विगत छ,’ उनले थपे, ‘तर, प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ।’

त्यस्तै, अध्यक्ष ढकालले अर्थ मन्त्रालयमा यसअघि नै अर्थ मन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको बताए।

साउन १, २०८१ बुधबार १०:४४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।