बंगलादेशमा हिंस्रक प्रदर्शन हुँदा छ विद्यार्थीको मृत्यु, शिक्षण संस्था अनिश्चितकालका लागि बन्द

बंगलादेशमा हिंस्रक प्रदर्शन हुँदा छ विद्यार्थीको मृत्यु, शिक्षण संस्था अनिश्चितकालका लागि बन्द

एजेन्सी : बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको हिंस्रक प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु भएको छ।

यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ। सन् १९७१ मा स्वतन्त्रता संग्रामपछि बंगलादेश पाकिस्तानबाट अलग भएको थियो।

यस्तो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका सन्तानलाई अनुचित रूपमा फाइदा पुर्याउने आलोचकहरूको भनाइ छ।

शेख हसिना जनवरी महिनामा लगातार चौथो निर्वाचनमा विजयी भएकी थिइन्। उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्।

बंगलादेशमा विगत केही दिनदेखि सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन भइरहेको छ। विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यसलाई झन् धेरै सशक्त बनाएका थिए।

केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो। गत महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको थियो।

साउन १, २०८१ बुधबार ०९:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।