आठ वर्षदेखि अलपत्र बुटवलको सडकको नयाँ टेण्डर आह्वान, पुरानो ठेकेदारबाट ३२ करोड जरिवाना असुल गर्न बाँकी

आठ वर्षदेखि अलपत्र बुटवलको सडकको नयाँ टेण्डर आह्वान, पुरानो ठेकेदारबाट ३२ करोड जरिवाना असुल गर्न बाँकी

बुटवल : बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक निर्माणका लागि नयाँ टेण्डर आह्वान गरिएको छ।

सडक निर्माणको जिम्मा पाएको द कञ्चनजंघा विरुवा जेभीले २०७३ साल चैत्र १७ गते ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको सडक आठ वर्षसम्म पनि निर्माण सम्पन्न भएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोड्दै नयाँ ठेक्का आह्वान गरेको हो।

५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा आठ वर्षमा जम्मा ५४ प्रतिशत मात्र काम गरेको अवस्थामा सडक अलपत्र पारेपछि सडक डिभिजन कार्यालय बुटवलले गत वैशाख १३ गते ठेक्का रद्द रद्द गरेको हो।

पटक–पटक म्याद थप गर्दासमेत काम सम्पन्न नभएपछि ठेक्का तोड्ने भन्दै सडक डिभिजन कार्यालय बुटवलले अघिल्लो वर्षको फागुन ४ गते सूचना समेत निकालिएको थियो। तर सडक विभागको माथिल्लो निकायसम्म पहुँच राख्ने ठेकेदारले काम नै नगरी म्याद थप गराएको थियो।

थप गरेको समयमा पनि उसले काम भने गरेन।

बुटवल–गोलपार्क सँगै बेलहियादेखि बाइपास सम्मको ७ सय ५० मिटर सडकको पनि ५८ करोड रुपैयाँमा टेण्डर आह्वान गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए।

७५० मिटरको उक्त सडक पनि द कञ्चनजंगा जेभीले २०७३ सालमा बेलहियादेखि बाइपास सम्मको सडकका लागि १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

अहिले चौराहदेखि गोलपार्क सम्मको मेन क्याजवेयमा लेभल मिलाउने पिच मात्र भएको छ। तर साइटको काम अधुरै छ। मेन क्याजवेयमा लेभल मिलाउने पिच भएपछि सबै चैचुप मैचुप भएका छन्। सडकको दायाँ र बाँया नाली सहितको सर्भिस लेन निर्माणकै अवस्थामा छ।

ठेक्का तोडेर कञ्चनजंघा बिरुवा जेभी काठमाडौंलाई कालोसूचीमा राखेको डिभिजन सडक कार्यालयले बैंक ग्यारेन्टीबापतको १२ करोड भन्दा बढी रुपैयाँ जफत गरिसकेको छ। निर्माण कम्पनीले दुई तर्फको सडकको ३२ करोड रकम जरिवाना तिर्न बाँकी छ।

डिजाइन परिर्वतनको प्रस्ताव
बुटवलको राजमार्ग चौराहदेखि बेलहियासम्म सडकको डिजाइन एउटै छ। दुवैतर्फ सर्भिस लेन अनि मुख्य सडक। तर, बुटवलको मुख्य बजार क्षेत्र चौराहदेखि गोलपार्कसम्मको डिजाइन भने परिर्वतन गर्न बुटवल उपमहानगरपालिकाले डिभिजन सडक कार्यालयलाई प्रस्ताव गरेको छ।

दुवैतर्फ सर्भिस लेन हुँदा व्यापारमा कमी हुने भएकाले सर्भिस लेन नराख्ने र फुटपाथलाई अझ ठुलो बनाउने प्रस्ताव उपमहानगरपालिकाको छ। त्यसमा साइकल लेन पनि बनाउने गरी छलफल भइरहेको बुझिएको छ।

साउन १, २०८१ बुधबार ०९:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।