उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञले देश छाडे, लिए दक्षिण कोरियामा शरण

उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञले देश छाडे, लिए दक्षिण कोरियामा शरण

एजेन्सी : क्युवामा खटिएका उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएका छन्। दक्षिण कोरियाको जासुसी एजेन्सीले यसको पुष्टि गरेको हो।

सन् २०१६ पछि उत्तर कोरियाबाट दक्षिण कोरिया आउने उनी सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ हुन्। नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस)ले यी कूटनीतिज्ञ नोभेम्बरमा दक्षिण कोरिया आएको बताएको छ।

उत्तर कोरियाबाट दक्षिण कोरिया आउने मानिसहरूको जानकारी पाउन लामो समय लाग्छ। उत्तर कोरियाबाट दक्षिण कोरिया आउने मानिसहरूले समाजमा सामेल हुनुअघि त्यहाँका सामाजिक नियमहरू सिक्नुपर्छ।

क्युबास्थित उत्तर कोरियाली दूतावासमा खटिएका ती कुटनीतिज्ञले त्यहाँको राजनीतिक सम्बन्ध हेर्ने गर्थे।

क्युबा र दक्षिण कोरियाबीच सुरू भएको कूटनीतिक सम्बन्धमा अवरोध सिर्जना गर्नु उनको मुख्य दायित्व थियो। तर, फेब्रुअरीमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। उत्तर कोरियामा यसलाई हारको रूपमा हेरिएको थियो।

चोसुन इल्बो अखबारले कूटनीतिज्ञसँग अन्तर्वार्ता लिएको बताउँदै उनी ५२ वर्षीय रि इल क्यु रहेको समेत खुलाएको छ।

अखबारले कूटनीतिज्ञलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरियाका प्रत्येक नागरिकले कम्तीमा एक पटक दक्षिण कोरियामा बस्ने बारे निश्चित रूपमा सोच्छन्।’

साउन १, २०८१ बुधबार ०७:४५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।