ओली सरकारमा किन सहभागी छैन जसपा नेपाल?

ओली सरकारमा किन सहभागी छैन जसपा नेपाल?

काठमाडौं : निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएको जनता समाजवादी पार्टी, नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएन।

सत्ताको वरिपरी रहिरहने प्रवृत्ति देखिएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सोमबार ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषदमा अटाइएन।

प्रवक्ता मनिष सुमनले कांग्रेस-एमालेको सहमति आधिकारिक रूपमा नबाहिरिएसम्म यसबारे केही टिप्पणी नगर्ने भन्दै पार्टीले सरकारलाई बाहिरबाट समर्थन मात्रै गर्ने निर्णय गरेको बताए।

बाहिर आएजस्तै साँच्चिकै समानुपातिक प्रतिनिधित्व हटाउने सहमति भएको भए त्यसका विपक्षमा आफूहरू रहेको उनको भनाइ छ। उनले राष्ट्रिय दलका बन्न १० प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने जस्ता विषय पनि अस्वीकार्य रहेको बताए।

‘कांग्रेस-एमालेबीच भएको लिखित सहमति बाहिर आएको छैन’, उनले भने, ‘समानुपातिक प्रतिनिधित्व खारेज गर्ने जुन भनिएको छ, यसको चाहिँ हामी विपक्षमा हौँ। यो संविधानको मूल मर्म हो। यसलाई कसैले परिवर्तन गर्न खोज्यो भने हिजो पनि आन्दोलन गरेर ज्यान फाल्न उद्यत थियौँ। भोलि पनि तयार हुनेछौँ।’

ओली सरकारले गर्ने भनिएको संविधान शंसोधनको स्पष्ट खाका बाहिर नआएकै कारण आफूहरू सरकारमा नगएको उनले बताए।

असार ३१, २०८१ मंगलबार २१:५०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।