विकटमै पठाइन्छ अपाङ्गता अनि दृष्टिविहीन शिक्षक : न डेरा पाइन्छ, न त यातायातको सुविधा नै छ

विकटमै पठाइन्छ अपाङ्गता अनि दृष्टिविहीन शिक्षक : न डेरा पाइन्छ, न त यातायातको सुविधा नै छ

बुटवल : रुपन्देहीको तिलोत्तमास्थित शिवपुरका टिकाराम घिमिरे पूर्ण दृष्टिविहीन शिक्षक हुन्। शिक्षा सेवा आयोगले लिएको प्रावि तहको परीक्षा उत्तीर्ण गरेका उनले ०८० चैत २६ गते नियुक्ति बुझे।

अपाङ्गता आरक्षित कोटाबाट नाम निकालेका घिमिरेले आफूले चाहेको पालिका रोज्न पाएनन्। अन्य कोटाबाट उत्तीर्ण गरेकाहरूले छाडेको रुपन्देहीको विकट क्षेत्र मर्चबारी गाउँपालिकामा जानुपर्यो उनले। शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले घिमिरेलाई मर्चबारी गाउँपालिकाको बगौली माविमा पठायो।

चैत २६ गते नियुक्ति बुझेका उनी २७ गते पालिका जाँदा लिन अस्विकार गरियो। अनि हाजिर गराउन नसक्ने ब्यहोराको पत्र पालिकाले समन्वयलाई पठायो।

त्यसपछि समन्वयको दबाबमा पालिकाले ३० गते विद्यालयमा हाजिर गरायो।

उनले यो गुनासो पालिकामा राखे। पालिकाले शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीसँग समन्वय गरेर विद्यालयमा हाजिर हुने अवस्था बनायो।

आफ्नो घरदेखि ४५ किलोमिटर टाढाको बगौली माविमा अध्यापन गराउने घिमिरेले अहिले आफूले सास्ती खेप्नु परिरहेको बताउँछन्। 

आफूहरूले अध्यापन गराउने विद्यालयसम्म जान सिधा यातायातको पहुँच नभएकै कारण धेरैले कोठा लिएर बस्नु परेको र कतिपय ठाउँमा त कोठा भाडा पाउन समेत मुस्किल परेको उनको भनाई छ।

तरपनि जसोतसो उनी कोठा भाडामा लिएर बसेका छन्। विकट क्षेत्र भएकाले होटलमा खाना खान्छु भन्दा पनि पाएका छैनन्। चाउचाउकै भरमा अधिकांश समय स्कुल पुग्छन्। स्कुलमा पनि अपांगमैत्री पूर्वाधार केही छैन।

‘शौचालय जानुपर्ने भयो भने सबैभन्दा कठिन हुन्छ। पिसाबले च्यापेपछि मात्र अरूको सहायताले शौचालय जानु परेको छ,’ उनले भने।

घिमिरेले आफुहरु प्रति सम्बन्धित निकाय संवेदनशील भएको बताए। 

‘कम्तीमा हामीलाई राखेर कहाँ पठाउने समन्वय गर्नुपर्थ्यो। हामीले घर पायक हुनुपर्छ भनेका थिएनौं। घरबाट सिधा सवारी छुट्ने स्थानमा भए हुन्थ्यो,’ उनले भने।

घिमिरेजस्तै मर्चबारीकै थ्रकि माविमा अध्यापन गराउने सन्दीप भट्टराई पनि दृष्टिविहीन शिक्षक हुन्। रुपन्देहीको तिलोत्तमा स्थित शंकरनगरका उनले ब्रेन टियुमरको शल्यक्रिया गर्दा आँखाको ज्योति गुमाए।

सन्दीप अहिले जिल्लाकै विकट क्षेत्रमा अध्यापन गराउँछन्। शंकरनगरबाट उनी जाने विद्यालयसम्म यातायातको पहुँच छैन। दैनिक ९ सय रुपैयाँ तिरेर बाइक रिजर्व गरेर उनी घरबाटै विद्यालय आउजाउ गर्छन्।

यातायातको पहुँच मात्र हैन, भाषाको समेत उस्तै समस्या छ। कक्षा ४ देखि ७ सम्म अध्यापन गराउने उनले भाषाकै कारण विद्यार्थीहरूले पढाएको बुझे पनि सोधेका प्रश्नहरूको जवाफ दिन नसक्ने उनी बताउँछन्।

‘हामी आफूले अध्यापन गर्दा प्रविधिलाई पछ्याउँदै पढ्यौं, त्यही सिकाई विद्यार्थीहरूमा लागु गरौँ भन्ने हो। विद्यालयमा त्यस्तो खालको पूर्वाधार र प्रविधिको प्रयोग गर्न सकिँदैन। सिकाइमा समेत कठिनाइ छ,’ उनले भने।

उनले विद्यालयमा स्मार्ट बोर्ड नभई ह्वाईटबोर्डसमेत भित्तामा नभई भुईँमा रहेको बताए। 

‘भाषाले पढाउन समस्या भएको छ। यातायात नहुँदा पैसा सबै रिजर्व गरेको बाइकमा खर्च भएको छ। अति नै गाह्रो छ,’ उनले भने।

उनी विद्यालय जाने र आउने गरेर कुल ७६ किलोमिटर दैनिक यात्रा गर्दै आएका छन्। 

‘पढाउनलाई केही गएर पनि आपत्ति छैन। पढाउन जहाँ गएपनि सक्छौं। तर, हामीलाई सरूवा गर्दा कम्तीमा सिधा यातायातको सुविधा भएको ठाउँमा भए धेरै सुविधा हुने थियो,’ उनले भने।

घिमिरे र भट्टराई मात्र होइन, अन्य ३ जना शारीरिक रूपमा असक्त शिक्षकहरू पनि मर्चबारी क्षेत्रकै विद्यालयमा अध्यापन गराउँछन्। आयोगबाट रुपन्देहीमा नाम निकालेका १३१ मध्ये ५ जना अपाङ्गता कोटाबाट थिए। अरू सबैले जिल्लाका अन्य १५ पालिका रोज्दा अपाङ्गता कोटाबाट नाम निकालेकाहरू ५ जना नै मर्चबारी गाउँपालिकामा परे।

शिसौ समेरा आधारभूत विद्यालयमा दृष्टिविहीन समीक्षा ज्ञवालीले अध्यापन गराउँछिन्। उनको खुट्टा भाँचिएको छ। अनि त्यसैमाथि भौगोलिक कठिनाइ। उनलाई विद्यालय आउजाउ गर्न निकै कठिन छ। अझ विद्यालयमा पूर्वाधार अपांगमैत्री छैनन्। प्रविधिको प्रयोग पनि छैन।

‘भाषाको समस्या छ। मल्टिमिडियाको प्रयोग गरेर पढाउन सक्ने अवस्था छैन। अपांगमैत्री पूर्वाधार नहुँदा पनि समस्या भएको छ’ उनले भनिन्।

त्यस्तै, शारीरिक रूपमा अशक्त राजेन्द्र डाँगी मर्चबारीकै जनकल्याण मावि र पार्वती केसीले जनता माविमा अध्यापन गराउँदै आएकी छन्।

जिल्ला शिक्षा समन्वयले एउटै पालिकामा पाँच जना अपाङ्गता भएका शिक्षकलाई पठाउँदा सुरुमा गाउँपालिकाले समेत इन्कार गरेको थियो। तर, नियमअनुसार पठाएको भनेपछि गाउँपालिका तयार भयो।

शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेले नियमअनुसार नै उनीहरुलाई पालिकामा पठाइएको बताए। 

उनले सुरुमा नाम निकाल्नेहरूलाई पालिका रोज्न पठाउने कानुनअनुसार रोजाइएको र अपाङ्गता कोटा अन्तिममाहुँदा सबैले छाडेको क्षेत्रमा उनीहरू जानुपर्ने बाध्यता रहेको बताए।

‘उहाँहरूको अवस्था हेरेर पालिका रोज्न र पालिकाभित्रको विद्यालय रोज्न पाउनुपर्ने हो। तर, ऐनले त्यो मार्गनिर्देशित नगरेको अवस्थामा हामी ऐन, कानुनभन्दा बाहिर गएर निर्णय लिन सकिँदैन’, उनले भने।

आफू अपाङ्गता शिक्षकहरूको समस्याप्रति पूर्ण जानकार रहेको भन्दै शिक्षा समन्वयकै कारण उनीहरू विकट क्षेत्रमा भने नगएको बताए।

साउन १, २०८१ मंगलबार २०:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।