समाजवादी मोर्चाले भन्यो 'केपी ओली नेतृत्वको सरकार पश्चगमनको यात्रामा छ'

समाजवादी मोर्चाले भन्यो 'केपी ओली नेतृत्वको सरकार पश्चगमनको यात्रामा छ'

काठमाडौं : समाजवादी मोर्चाले कांग्रेस-एमाले गठबन्धनबाट बनेको केपी ओली नेतृत्वको सरकार पश्चगमनको यात्रामा रहेको निष्कर्ष निकालेको छ।

एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले यो गठबन्धनले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने भन्दै सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकाल्यो। 

‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना घटेको छ। यो लगायत देशको समग्र स्थितिका बारेमा गम्भीर समीक्षा भएको छ’, बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भने, ‘यो घटनाले प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्न खोजेको देखिन्छ। यसबारे बैठकमा गम्भीर चिन्ता प्रकट गरिएको छ।’

बैठकले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्न भन्दै समीक्षा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रकाण्ड, प्रमेश हमाल, देव गुरुङ र गंगा नारायण श्रेष्ठ रहेका छन्। कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ।

बैठकले प्राप्त उपलब्धिहरूकाे रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्ने सन्दर्भमा अर्काे बैठकले तय गर्ने छ। 

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द्र विप्लव लगायतका नेताहरू उपस्थित थिए। 

असार ३१, २०८१ मंगलबार १९:५९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।