कुरा मात्र गरेर हुँदैन, काम गर्नुपर्छ, त्यसका लागि स्रोतको आवश्यकता हुन्छ : गृहमन्त्री लेखक

कुरा मात्र गरेर हुँदैन, काम गर्नुपर्छ, त्यसका लागि स्रोतको आवश्यकता हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अन्य स्थानको खर्च कटौती गरेर भएपनि नागरिकको जीवन बचाउनुपर्ने बताएका छन्। 

मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको स्वागत कार्यक्रममा उनले आर्थिक कारणले मात्र गरेर काम रोकिन नहुने भन्दै आर्थिक व्यवस्थापनको कुरामा गम्भीर भएर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताए। 

उनले भने, 'सतर्क भएर काम गर्नुहोला आर्थिक कारणले मात्र गरेर काम रोकिँदैन, रोकिनु पनि हुँदैन। अरू स्थानबाट कटौती गरेर भएपनि सबैभन्दा पहिला नागरिकको जीवन बचाउनुपर्छ।’

उनले काम गर्नको लागि स्रोत, साधनको कमी भएको भन्दै यसलाई बढाउनको लागि अर्थ मन्त्रालयले निर्णय गरेका रकम छिटोभन्दा छिटो निकासा गर्नको लागि पहल गर्ने बताए। 

उनले भने, ‘हामीले जति पनि कुरा गरिरहेका छौं। कुरा मात्र गरेर हुँदैन, काम गर्नुपर्छ। काम गर्नका लागि स्रोत, साधनको आवश्यकता हुन्छ। कुरा अन्तिममा गएर अर्थ र रकममा गएर रोकिन्छ। त्यसको लागि अर्थ मन्त्रालयले जुन दिनुपर्ने छ, त्यो रकम छिटोभन्दा छिटो दिनका लागि पनि अर्थमन्त्रीसँग कुरा गर्छु।’ 

जुनसुकै बेला प्राकृतिक विपद् हुन सक्ने हुनाले मन्त्रालय र प्राधिकरणलाई उच्च सतर्कतामा काम गर्न अनुरोध गर्दै यसको लागि मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्नुपर्ने उनको भनाई छ।

असार ३१, २०८१ मंगलबार १८:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।