परराष्ट्रमन्त्री आरजुले भारतीय राजदूतसँगको भेटमा के भनिन् ?

परराष्ट्रमन्त्री आरजुले भारतीय राजदूतसँगको भेटमा के भनिन् ?

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटे। भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको डा.देउवाले बताइन्। 

सोमबार मात्रै परराष्ट्रमन्त्रालयको पदभार सम्हालेकी राणाले सीमा समस्याहरूमा चनाखो भएर काम गर्ने बताएकी छन्। उनले तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी हुन्। 

उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरू तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन्। 

राणा पहिलोपटक मन्त्री बनेकी हुन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको श्रीमती हुन्।

राणा २०७४ मा कैलाली-५ बाट चुनाव लडेकी थिइन्। त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए। 

त्यसपछि गएको निर्वाचनमा कांग्रेस समानुपातिक मार्फत प्रतिनिधिसभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन्। 

असार ३१, २०८१ मंगलबार १५:३९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।