पहिरोले बुवा-आमासहित परिवारका चारै जनाको ज्यान गयो, बाँचेका नाबालक छोरालाई ७ लाख राहत

पहिरोले बुवा-आमासहित परिवारका चारै जनाको ज्यान गयो, बाँचेका नाबालक छोरालाई ७ लाख राहत

काठमाडौं : असार २७ गते बिहीबार राति आएको पहिरोले घर पुरिँदा पोखरा–१९ तल्लाकोटका कुलबहादुर परियारको परिवारका ४ जनाले ज्यान गुमाए।  

पहिरोले घर पुर्दा घरधनी कुलबहादुरसहित उनकी आमा लक्षिमा परियार, श्रीमती मनकुमारी परियार, छोरीहरू प्रसना र प्रभा परियार, ज्वाइँ अस्मित परियार अनि छिमेकी राधिका परियारको मृत्यु भएको थियो। पहिरोमा परी नाबालक छोरा पवन परियार बाँच्न सफल भएका थिए।

उक्त घटनाको ४ दिनपछि त्यस परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत स्वरूप ७ लाख रूपैयाँ प्रदान गरेको छ।

मृतक परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख र गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख रूपैयाँको चेक प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। 

परिवारमा नाबालक छोरा मात्र बाँच्न सफल भएकाले राहत रकम अरू कसैले दुरूपयोग नगरोस् भनेर नाबालकका नाममा खाता खोलेर रकम जम्मा गर्न सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए। 

प्रजिअ पाण्डेले परियारको घरसमेत पुनर्निर्माण गरिने बताए।  

असार ३१, २०८१ मंगलबार १५:१६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।