सिमलताल पहिरो : घटनास्थल आसपास शव फेलापर्ने सम्भावना न्यून

सिमलताल पहिरो : घटनास्थल आसपास शव फेलापर्ने सम्भावना न्यून

चितवन : चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरूको शव घटनास्थल आसपास फेला पर्ने सम्भावना न्यून बन्दै गएको छ।

मंगलबार निवर्तमान गृहमन्त्री रवि लामिछानेसँग कुरा गर्दै चितवनका प्रहरी अधिकारीहरूले घट्नास्थलमा शव फेला पर्ने सम्भावना कम रहेको जानकारी गराएका हुन्।

उक्त दुर्घटनामा बेपत्ता भएकामध्ये हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ को अवस्था अझै अज्ञात छ। पछिल्लो समय दुर्घटना स्थलभन्दा करिब एक सय किलोमिटर तल गण्डक व्यारेजमा भेटिन थालेको छ।

‘अब पहिरो गएको क्षेत्रमा बस वा शव छैन भन्ने अनुमान छ। जति वटा शब यहाँ भेटियो अब यतातिर भेटिने सम्भावनाहरू धेरै कम हुँदै गएको छ। पूर्व र पश्चिम नवलपरासीको बगरहरूमा फेला पर्न थालेको छ’, लामिछानेसँग एक प्रहरी अधिकारीले भने।

सोही क्रममा निवर्तमान गृहमन्त्री लामिछानेले पनि मौसम विज्ञान विभागले रेड अलर्टमा राखेको ठाँउमा जे भए पनि सवारी चल्न दिन नहुने सुझाव दिएका छन्।

‘मौसम विज्ञान विभागले जोखिममा रहेका ठाँउहरूको बारेमा सूचना दिन्छ। रेड अलर्ट भएको ठाँउमा जे सुकै भए पनि चल्नै नदिने गर्नुपर्छ’, उनले भने।

असार ३१, २०८१ मंगलबार १३:५८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।