गाजाको विद्यालयमा इजरायली सेनाको आक्रमणमा २२ जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

गाजाको विद्यालयमा इजरायली सेनाको आक्रमणमा २२ जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

एजेन्सी : मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

आक्रमणमा एक सय जनाभन्दा बढी मानिस घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। उसका अनुसार त्यस विद्यालयमा युद्धबाट विस्थापिहरू बस्दै आएका थिए।

तर, इजरायली सेनाले नुसरत शरणार्थी शिविरमा रहेको अबु ओराबेन विद्यालयमा हमास लडाकुहरूले आफ्नो गतिविधि सञ्चालन गरिरहेको बताएको छ।

यद्यपि प्रत्यक्षदर्शीका अनुसार शिविरमा सशस्त्र लडाकुहरू थिएनन्। मृत्यु हुनेमा बालबालिका समेत रहेको उनको भनाइ छ। पछिल्लो आठ दिनमा विद्यालय र वरपरको क्षेत्रमा भएको यो पाँचौं आक्रमण हो।

मानवीय क्षेत्रको रूपमा तोकिएको गाजा क्षेत्रमा इजरायली हवाई आक्रमणमा यस अवधिमा कम्तीमा १ सय ४१ प्यालेस्टाइनीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हमासले एक विज्ञप्ति जारी निकालेर खान युनिस नजिकै अल मसावी क्षेत्रमा भएको आक्रमणमा अहिलेसम्म ४०० जना घाइते भएको जनाएको छ।

सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण गरेको थियो। आक्रमण भएको स्थानमा सेनाले नै प्यालेस्टिनीहरूलाई शरण लिन भनेको थियो।

यस सम्बन्धमा इजरायलले हमासका वरिष्ठ नेता मोहम्मद डेफ र उनका सहयोगी राफा सलामामा लक्षित गरेर आक्रमण गरिएको बताएको छ। इजरायलले हालै आफ्नो सेनाले सलामामा मारेको दाबी गरेको थियो।

असार ३१, २०८१ मंगलबार १२:२५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।