दीपक लिम्बूका प्रिय १० सुर : नारायण गोपालको त्यो गीत गाउँदा अहिले पनि आँशु छचल्किन्छ

दीपक लिम्बूका प्रिय १० सुर : नारायण गोपालको त्यो गीत गाउँदा अहिले पनि आँशु छचल्किन्छ

काठमाडौं : नेपालको पहिलो रियालिटी शो ‘नेपाली तारा’का विजेता हुन् दीपक लिम्बू।

नेपाली ताराको उपाधि जितेपछि उनी नेपाली सांगीतिक क्षेत्रमा व्यापक छाए। त्यतिबेला प्रदर्शनमा आएका हरेक नेपाली फिल्मको गीतका उनको स्वरको कम्तीमा पनि एउटा गीत हुन्थ्यो नै।

झण्डै दुई दशकको सांगीतिक यात्रामा उनले हजारौं गीतमा स्वर भरेका छन्। फिल्मका अलवा एल्बमका गीतमा समेत उनको स्वर छ।

नेपाली तारामा विजयी बनेपछि उनलाई गीत रेकर्ड गर्न भ्याइनभ्याइ थियो। संगीतकार र गीतकारले उनको स्वरमा गीत रेकर्ड गर्न लामै समय पर्खनुपर्थ्यो।

अहिले उनका गीतहरू सोही अनुपातमा रेकर्ड नभए पछि उनले आफ्ना स्रोतालाई निराश पारेका छैनन्। उनका गीतहरू अहिले पनि सार्वजनिक भइरहेका छन्।

चर्चाकै समयमा विदेश भासिएपछि उनलाई गीतका र संगीतकारले पनि बिर्सन थाले। अहिले पनि विदेशमै बसिरहेका उनी नेपाल आएको समयमा उकेराको स्तम्भ ‘प्रिय दश सुर’का लागि आफ्ना पाँच र अरुका पाँच गीत यसरी छानेका छन्।

आफ्ना पाँच
मैले त्यहि भएर मन पराको
मैले पहिलो पटक फिल्ममा गाउने अवसर पाएको गीत हो यो। फिल्म ‘हिम्मत’मा समावेश यो गीतले मलाई दर्शकस्रोताझ अझ धेरै परिचित गराएको थियो। यो गीतपछि मेरा लागि धेरै अवसरका ढोकाहरू खुलेका थिए।

पहिलो गीत नै स्रोताहरूले अत्यधिक मन पराइदिनुभएको थियो। त्यस कारण यो गीत मेरा लागि सधैँ प्रिय छ। ‘हिम्मत’ फिल्ममा समावेश भएको यो गीतमा महेश खड्काको संगीत, डाक्टर कृष्णहरि बरालको शब्द रचना छ।

यहाँ देशको छ चिन्ता
यो गीतले माया प्रेमसँगै एउटा देश प्रेमको भावलाई पनि समेटेको छ। यसले भावी सन्ततिलाई देशभक्त हुन सिकाउँछ। गीतमा देशप्रेमसँगै पारिवारिक विषय पनि छन्। यो गीतले दीपक लिम्बू मरणोप्रान्त पनि सम्झाइरहन्छ।

मेरो लागि यो नम्बर वानमा पर्ने गीत हो जस्तो लाग्छ। यो गीत गाउँदा असाध्यै मन छुन्छ। धेरै स्रोताहरूले पनि मन पराइदिनुभएको पनि यो गीत मेरा लागि अत्यन्त प्रिय छ। यो गीतलाई पनि डाक्टर कृष्णहरि बरालले लेख्नुभएको हो। संगीत भने सुरेश गैरेको छ।

मुटु माग्यौ तिमीले 
मैले फिल्मका गीतहरू गाइरहँदा दीपकले आधुनिक गीत पनि गाउन सक्छ भनेर चिनाएको गीत हो यो। यहि गीत सुनेपछि मलाई धेरै आधुनिक गीतहरू गाउने अफर आयो।

मलाई यो गीतले अझ धेरै संगीतकारहरूसँग काम गर्नका लागि अवसरको ढोका खोलिदियो। त्यसकारण पनि यो गीत मेरा लागि प्रिय छ। उसो त गीत आफैँ पनि राम्रो छ। राजेन्द्र तम्ली लिम्बूले रचना गर्नुभएको गीतमा महेश खड्काको संगीत छ।

मैले माया गर्न जानिनँ होला
फिल्मी प्याट्रनको गीत गाउँदै आएको म अलिकति आधुनिक, थोरै वेस्टर्न तिर ढल्केको थिए। त्यहि समयमा गाएको गीत हो यो। गीतले मलाई पछिल्लो पुस्तासँग कनेक्ट गरायो।

दिपक लिम्बूको गीत रैछ, दिपक लिम्बूले गाको रैछ भनेर युवापुस्तामाझ मलाई धेरै परिचित गरायो यो गीतले। शुकबहादुर गुरुङको शब्द रचना रहेको यो गीतलाई तारा प्रकाश लिम्बूले संगीत भर्नुभएको छ।

मान्छे मान्छे एउटै हो नि 
मानव जातीमा विद्यमान जातभातको विभेदको विषय उठान गरेकाले पनि मलाई यो गीत उत्कृष्ट लाग्छ। मान्छे हामी एउटै हो, जातीय विभेदको विषय पछि बनाइएको रहेछ भन्ने सन्देश गीतमार्फत दिइएको छ।

गीतका शब्दहरू राम्रा छन्। मैले स्टेजमा गाइरहने गीतमध्ये यो पनि एक हो। त्यसैले पनि होला यो गीत मेरो लागि प्रिय छ। फिल्म ‘आवाज’मा समेटिएको यो गीतलाई पुनित मगरले लेख्नुभएको हो भने संगीत खुशीराम पाख्रिनले गर्नुभएको छ।

अरुका  पाँच 
यस्तो पनि हुँदोरैछ
मलाई फत्तेमान राजभण्डारीका अधिकांश गीतहरू मन पर्छन्। उहाँका धेरै गीतहरू मैले बाल्यकालदेखि नै गुनगुनाइरहन्थेँ। जीवनमा मैले धेरै गुनगुनाएकोमध्ये एक गीत हो ‘यस्तो पनि हुँदो रैछ।’

जानी नजानी यो गीत गुनगुनाउँदा मैले गाउने शैली केही हदसम्म सिकेँ। मेरो करिअरको सुरुवातमा मैले उहाँका गीत गाउँदाखेरि दिपक लिम्बूले यस्तो पनि गीत गाउँदो रहेछ भनेर धेरैले मलाई नोटिसमा राख्नुभएको थियो।

कतिपय कार्यक्रममा मलाई यो गीत गाउन अनुरोध गर्नुभएको छ। मैले धेरै गुनगुनाइरहने गीत भएर पनि होला यो गीत अति प्रिय लाग्छ। यस गीतमा यादव खरेलको शब्द रचना अनि नातिकाजीको संगीत रहेको छ।

जीवनदेखि धेरै धेरै नै थाकेर
यो गीतको शब्द, संगीत र स्वर अत्यन्तै राम्रो लाग्छ। नारायण गोपालले गाउनुभएको यो गीतमा गोपाल योन्जनको शब्द तथा संगीत छ। अहिले पनि यो गीत गुनगुनाउँदा आँखामा आँशु छचल्किन्छ। धेरैपटक गहभरी आँशु पारेको छु। यसका हरेक शब्दले छुन्छ। जति सुन्छु, आँखामा आँशु रसाउँछ। किन मनपर्छ थाहा छैन तर असाध्यै मनपर्छ।

जीवन भनुँ त घात छ
मलाई भक्तराज आचार्यका अधिकांश गीतहरू मन पर्छन्। त्यस मध्येको एउटा गीत यो पनि हो। गीतमा जीवनसँग जोडिएका धेरै कुराहरूको वर्णन गरिएको छ। गीत सुन्दा जीवनमा भएका यर्थातता पाउने गर्छु। गीतको शब्दहरूले धेरै बोलेका छन्। संगीतमा उत्तिकै मिठास छ।

घुम्तीमा नआउ है
मैले गायनमा प्रवेश गर्दै गर्दा गुनगुनाउने गीत हो यो। कहिले एक्लै त कहिले साथीहरूसँग बसेर धेरै पटक यो गीत गुनगुनाएको छु मैले। प्रेमध्वज प्रधानले गाउनुभएको यो गीत मैले स्कुल, कलेजका कार्यक्रममा खुब गाएको छु।

यो गीतबाट मैले धेरै कुरा सिकेको पनि छु। यो गीत सुन्दा मेरा संघर्षका दिनहरू झलझली सम्झन्छु। अहिले पनि संघर्ष त गरिरहेकै छु। तर यो नेपाली तारामा आउनुअघिको कुरा हो। यिनै गीतहरू सुनेर अभ्यास गर्थेँ मैले।

गीतमा प्रेमध्वज प्रधानले नै संगीत गर्नुभएको छ भने शब्द रचना रत्नशमशेर थापाको छ।

आज मन उडेर भाग्छ
यो ‘माया बसेछ’ फिल्मको गीत हो। उदित नारायण झाका हरेक गीत मन पर्छ मलाई। उहाँ जस्तै प्लेब्याक सिंगर बन्न पाए हुन्थ्यो भन्ने मनमा सधैँ हुन्थ्यो। सानैबाट उहाँका गीत सुन्थेँ। मैले नेपाली तारामा पनि गाएको थिएँ यो गीत।

कहिलेकाहिँ रेडियो या टेलिभिजनमा यो गीत बजेको सुन्दा नेपाली तारामा गाएको क्षण सम्झन्छु। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय हो। यो गीतमा महेश खड्को संगीत रहेको छ।

असार ३१, २०८१ मंगलबार १०:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।