आक्रमणपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखिए ट्रम्प

आक्रमणपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखिए ट्रम्प

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको आक्रमणपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन्।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको कानमा पट्टी बाँधिएको थियो। उनको दाहिने कानमा ठूलो ब्यान्डेज थियो।

सम्मेलनमा रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स पनि उनीसँगै उपस्थित थिए। पार्टीका सिनेटर ब्यारोन डोनाल्ड्स दायाँतर्फ उभिरहेका थिए।

यस्तै ट्रम्पका छोराहरू एरिक र डोनाल्ड जूनियर पनि उनीसँगै बक्समा थिए। परिवारका अन्य सदस्यहरू पनि सँगै उभिरहेका थिए। राष्ट्रिय सम्मेलनमा वक्ताहरूको भाषणका क्रममा ट्रम्प मुस्कुराउँदै ताली बजाइरहेका थिए।

पेन्सिलभेनियाको बटलरमा रिपब्लिकन पार्टीको र्यालीमा भाषण गरिरहेका बेला आइतबार ट्रम्पामथि गोली प्रहार भएको थियो। गोली ट्रम्पको दाहिने कानको टुप्पोमा लागेर गएको थियो।

ट्रम्पमाथि गोली प्रहार गर्ने २० वर्षीय आक्रमणकारी म्याथ्यू थोमस क्रुक्सलाई प्रहरीले सुरक्षा कारबाहीमा मारेको थियो।

असार ३१, २०८१ मंगलबार १०:०३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।