ह्वावे नेपालद्धारा ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका छ विजेता घोषणा, भदौमा चीन भ्रमण गर्ने
काठमाडौं : ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा गरेको छ।
सूचना प्रविधिका प्रतिभाहरूको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ।
ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत सञ्चालित प्रतियोगितामा आवेदन दिएका तीन सय विद्यार्थीबाट ३० जनालाई छनोट गरिएको थियो।
प्रतिष्ठित व्यक्तिहरू सम्मिलित निर्णयक मण्डलले गत आषाढ १७ मा गरेको अन्तिम अन्तरवार्तामा अन्तिम सूचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको छ।
विद्यार्थीहरूलाई नेतृत्व क्षमता, शैक्षिक तिक्ष्णता, सञ्चार कौशल, समुहगत सहकार्य, समय अनुकुल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मूल्याङ्कन गरिएको थियो।
हौसला, जोश, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सिप, नयाँ सोच सहित सामाजिक जिम्मेवारी लिने, नैतिकता जस्ता शिर्षकलाई छनोटका आधार बनाइएको थियो।
शिर्ष स्थानमा रहेका विद्यार्थीहरू आशिष कार्की, एन्जिलिना घिमिरे, प्रियान्शु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की हुन्। उनीहरूले अब २०८१ भदौमा चीनमा हुने क्षेत्रीय प्रतियोगितामा भाग लिनेछन्।
अब हुने अन्तिम प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो समूह विस्तार, स्थानीय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट थप मार्गदर्शनको अवसरको साथमा वास्तविक व्यापारको अनुभव समेत प्राप्त गर्नेछन्।
विजेताहरूले चीनको डिजिटल पृष्ठभूमि, सञ्चार प्रविधि क्षेत्र, उच्च प्रविधि कम्पनि सहित कार्य सञ्चालन विधिबारे अन्तरक्रियाको अवसर विद्यार्थीहरूले पाउनेछन्।
असार ३१, २०८१ मंगलबार ०८:५१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।