१४ प्रतिशत बोनस सेयर दिने नागरिक लगानी कोषको प्रस्ताव

१४ प्रतिशत बोनस सेयर दिने नागरिक लगानी कोषको प्रस्ताव

काठमाडौं : नागरिक लगानी कोषको आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ।

२९औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश  स्वीकृत गरेको हो।

त्यसैगरी सभामा आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए। उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको धारणा राखे।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै सेयरधनीहरूबाट उठाइएका विषय तथा सुझावका सम्बन्धमा थप प्रष्ट पारे। साथै, कोषको कारोबारलाई क्रमशः सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरूलाई विस्तार गर्दै लगिनेमा जोड दिए।

कोषके सेयरधनीहरूको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिएको बताए। आगामी दिनमा कोषले १४ प्रतिशतभन्दा तल नआउने गरी बोनस दिने प्रतिवद्धता समेत उनले व्यक्त गरे।

कोषको एकीकृत सूचना प्रणाली हालै मात्र सञ्चालनमा आएकोले रिकन्सिलेसन सम्बन्धमा केही समस्या देखिएको बताउँदै उनले आगामी आर्थिक वर्षमा त्यो समस्या समाधान हुँदै जाने बताए।

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ। उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ। 

साउन १, २०८१ मंगलबार ०८:४२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।