तस्वीरमा ‘मेरो सवारी, मेरो लेन’

तस्वीरमा ‘मेरो सवारी, मेरो लेन’

बुटवल : सवारी चालकलाई लेन अनुसान सिकाउने उद्देश्यले रुपन्देहीमा ‘मेरो सवारी, मेरो लेन’ अभियान सुरु गरिएको छ।

यसले बढ्दो सवारी चापसँगै लेन अनुशासनका उल्लंघन गर्दा हुने दुर्घटना न्युनीकरणमा टेवा पुग्ने ट्राफिक प्रहरीको विश्वास छ। गत बुधबारबाट सुरु भएको अभियान अनुसार अहिले बुटवलका चोकहरूमा दैनिक सवारी चालकहरूलाई प्रशिक्षण भइरहेको छ।

बुधबार बेलहियास्थित सीमा नाकाका बसमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टीकर टाँसेर गृह सचिव एकनारायण अर्यालले अभियानको शुभारम्भ गरेका थिए।

बुटवलका मिलनचोक, ट्राफिकचोक, गोलपार्क, चौराह, कालिकानगर क्षेत्रमा दैनिक जसो ट्राफिकचोक प्रहरी र स्वयंसेवकहरूले अभियान अनुसार चालकहरूलाई लेन सिकाउने कार्य भइरहेको छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिले समेत लेन सिकाउन ट्राफिक प्रहरीसँग सहकार्य गरेर अगाडि बढेको छ।

प्रालिका सञ्चालक नारायण घिमिरेले ट्राफिक नियमको पालना गर्ने हो भने आधा भन्दा बढी दुर्घटना न्यूनीकरण हुने भएकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर अभियानमा जोडिएको बताए।

उनले लेन अनुशासन कायम गर्न सबै नागरिकले यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। आर्थिक तथा व्यापारिक केन्द्र भएकाले रुपन्देही सवारी चाप दैनिक बढ्दो छ। जसका कारण लेन अनुशासन पालना नहुंदा कयौंपटक दुर्घटना भइरहेका छन्।

लेन पालनापछि दुर्घटनामा कमि आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लामा फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दुर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेकाले यो अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले बताए।

उनले एक हप्तासम्म जिल्लाका दर्जन भन्दा बढी स्थानमा लेन अनुशासनको कार्यक्रम जारी रहने बताए। लेन अनुशासन कार्यक्रममा विद्यार्र्थी र नागरिकस्तरबाट पनि स्वयंसेवी रूपमा सहयोग गरिरहेका छन्।

उनले सबै नागरिक सचेत भए स्वतः दुर्घटना कम हुने भन्दै पछिल्लो एक वर्षमा सचेतनाका ५० बढी कार्यक्रम गरिएको बताए।

असार ३१, २०८१ मंगलबार ०७:४३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।