प्रतिपक्षको बेन्चमा पुगेपछि रास्वपा सांसदलाई आएको बुद्धि : सरकार किन समावेशी भएन?

प्रतिपक्षको बेन्चमा पुगेपछि रास्वपा सांसदलाई आएको बुद्धि : सरकार किन समावेशी भएन?

काठमाडौं : सोमबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको आवाज चर्को सुनियो। सांसदहरू सोविता गौतम र तोसिमा कार्कीले समसामयिक राजनीतिक घटनाक्रमबारे कुरा उठाए। 

दुई ठूला दल मिलेर गरेको सम्झौता सार्वजनिक गर्नुपर्ने, सरकारको सुशासन र भ्रष्टाचारबारे धारणा, मन्त्रीहरूलाई आफ्नो सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्नुपर्ने लगायतका विषयमा उनीहरूले कुरा राखेका थिए। 

त्यसमा पनि रास्वपा सांसदद्वय सोविता गौतम र तोसिमा कार्कीले नयाँ बनेको सरकारमा समावेशीता कायम नभएको प्रश्न चर्को रूपमा उठाए। 

सांसद गौतमले नयाँ मन्त्रिपरिषद् समावेशी किन नभएको भनी प्रश्न गरिन्। बैठकको शून्य समयमा बोल्दै गौतमले संविधानले व्यवस्था गरेअनुरूपको महिला, दलित लगायतको प्रतिनिधित्व नभएको बताइन्।

उनले भनिन्, ‘संविधानले सुनिश्चित गरेको व्यवस्थासमेत सरकारले मानेको देखिएन। सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो?’

त्यस्तै, अर्की सांसद कार्कीले नयाँ मन्त्रिपरिषद्‌मा दलित समूदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाइन्।

महिलाहरूको प्रतिनिधित्व पनि कम भएको भन्दै असन्तुष्टि जनाउँदै उनले वर्तमान सरकारको गणित कमजोर भएर हो वा नियतमै खोट भएर हो महिलाको प्रतिनिधित्व समानुपातिकरुपमा मन्त्रिपरिषद्मा कम भएको? भनेर प्रश्न गरिन्। 

यसअघि एमाले-माओवादी सरकारमा रास्वपा पनि सहभागी थियो। रास्वपाबाट ४ जना मन्त्री बन्दैगर्दा एकजना पनि दलित पठाएन। तर, त्यसबेला कुनै पनि रास्वपा सांसदले यसबारे बोलेनन्। 

अझ रोचक कुरा त, यसअघिको प्रचण्ड नेतृत्वको सरकारमा समेत दलितको प्रतिनिधित्व थिएन। कुनै पनि दलले दलितलाई मन्त्री सिफारिस नगर्दा दलितबिहीन बनेको सरकारको आलोचना समेत कुनै रास्वपा सांसदले गरेनन्।  

असार ३०, २०८१ सोमबार २१:०२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।