पहिलो निर्णयमा ओली सरकारका मन्त्री : कोही बहकिए, अधिकांशले सामान्य निर्णय गरे

पहिलो निर्णयमा ओली सरकारका मन्त्री : कोही बहकिए, अधिकांशले सामान्य निर्णय गरे

काठमाडौं : सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ मन्त्रीहरूले पद तथा गोपनियाताको सपथ संगै पदभार ग्रहण गरे। त्यसक्रममा मन्त्रीहरूले पहिलो निर्णय गरिसकेका छन्। ओली मन्त्रिपरिषद्‌मा रहेका १२ पुराना अनुहार र १० नयाँ अनुहारका मन्त्रीहरूले गरेको निर्णय कतै उत्साहप्रद छ त, कतै अधिकांश सामान्य किसिमका छन्। 

आफ्नो पहिलो निर्णय स्वरूप नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरे।

त्यसक्रममा सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए। जुन उनले यसअघि अर्थमन्त्री हुँदा पनि भन्दै आएका हुन्। 

कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी बिकाश मन्त्री प्रकाशमान सिंहले आफ्नो मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वःघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुन मन्त्रालयमा पठाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गरे।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जनका गर्न समिति गठन गर्नेसम्बन्धी निर्णय गरे। 

सरकारको नीति तथा कार्यक्रममा रहेका विषयलाई कार्यान्वयनका लागि डिटिलन नेपालको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भन्दै उनले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे।

त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पहिलो निर्णयका रुपमा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्‌मा पठाउने निर्णय गरेका छन्।

त्यसक्रममा विकास निर्माणको काम ठप्प भएको भन्दै उनले काम छिटो सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा हुने र विकास निर्माणका काममा क्यालेन्डर बनाएर काम गर्ने प्रतिवद्धता जनाए।

निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको आरोप लगाउँदै रविले गृहमन्त्रीको रूपमा पर्याप्त कार्य गर्न नसकेको भनेका रमेश लेखक गृहमन्त्री नियुक्त भए। पदभार ग्रहण गर्दै उनले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरे।

उनले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरे। कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन्। कार्यदललाई १० दिन समय दिइएको छ।

 तथापि गृहमन्त्री लेखककहाँ सुशासन कायम गर्दै भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने चुनौती छ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन्।

शिक्षामा हुने गरेको राजनीतिकरण अन्त्य गर्ने थालनी आफूले सुरुवात गरेको भन्दै निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले दाबी गरेर बिदा भइरहँदा नवनियुक्त मन्त्री भट्टराईको काँधमा पनि शिक्षा क्षेत्रको राजनीतिक अन्त्य गर्नुपर्ने चुनौती छ।  तर, उनले सामान्य दिवा खाजाकै विषयबाट आफ्नो पदभार सुरू गरिन्। 

उता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पदभार ग्रहण गर्दै २ वटा निर्णयमा हस्ताक्षर गरे।

उनले झापाको साविक महारानी झोडा गाविस वडा नम्बर ४ र ५ को जग्गा दर्ता सम्बन्धी समिति गठन आदेशका लागि कानुन मन्त्रालय पठाउने र मन्त्रालय अन्तर्गतका निकायबाट निर्देशन माग गर्दाको ढाँचा स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरे।

सर्वाधिक चर्चाको रूपमा रहेकी नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहणपछि सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन्।

उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरू तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताइन्। 

एमाले-माओवादी गठबन्धनको सरकार चलिरहेको बेला छिमेकी राष्ट्रको इन्ट्रेस्टमा कांग्रेस-एमाले सरकार बनेको आरोप लागिरहेको बेला मन्त्री राणाको काँधमा छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सुधार गर्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने चुनौती छ। 

कांग्रेसबाट पहिलोपटक मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गरि सबैलाई समेट्ने गरी दुई निर्णयमा हस्ताक्षर गरे। 

यता, नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले बहकिएर पहिलो अभिव्यक्ति दिए। 

पदभार ग्रहण गरेपछि उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै अहिलेको सरकार डबल इन्जिनको सरकार भएको बताए।

‘यो सरकार लामो चल्छ, किनकी यो केपी ओलीको सरकार हो। डबल इन्जिनको सरकार छ। यो इन्जिन एकदम झक्कासले चल्छ। हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ। यो सरकार आफ्नो अवधिसम्म चल्छ,’ उनले भने।   

असार ३०, २०८१ सोमबार २०:३७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।