सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री आरजु

सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री आरजु

काठमाडौं : नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन्।  

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार गरिन्।

राणा पहिलोपटक मन्त्री बनेकी हुन्। रोजेको मन्त्रालय पाएकी उनी मन्त्रिपरिषदको सातौं वरियतामा रहने छिन्।

पदभार ग्रहणपछि उनले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन्।

उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरू तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताइन्। 

बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुनपर्ने भन्दै तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुने उनको दावी छ। 

मन्त्री राणाले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन्। 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको श्रीमती हुन्।
 
राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन्। त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए। 

कांग्रेस समानुपातिक मार्फत प्रतिनिधि सभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन्। 

लामो समय गैर सरकारी संस्थाहरूमा व्यस्त रहेकी उनी ०५१ सालमा देउवासँग विवाह गरेपछि पनि लामो समय सक्रिय राजनीतिमा थिइनन्।  

असार ३०, २०८१ सोमबार १८:५९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।