३० वर्षदेखि काठमाडौंमा जुत्ता सिलाइरहेका कामेश्वरको पछुतो : अरूले यही काम गरेर छोराछोरी पढाए, मैले सकिँन

३० वर्षदेखि काठमाडौंमा जुत्ता सिलाइरहेका कामेश्वरको पछुतो : अरूले यही काम गरेर छोराछोरी पढाए, मैले सकिँन

कामेश्वर रामलाई वर्षायाम कहिल्यै नआइदिए पनि हुन्थ्यो जस्तो लाग्छ। नलागोस् पनि किन, वर्षायाममा एकोहोरो पानी परिदिँदा उनको कमाइ नै हुँदैन। अनि कमाइ नभएपछि हातमुख जोड्नु कसरी? 

कामेश्वर झिंझो मान्दै भन्छन् ‘एक्कैछिनमा पानी पर्छ, एक्कैछिनमा घाम लाग्छ। कमाई पनि हुँदैन, कोठाको भाडा कसरी तिर्नु खै?’

२०५१ सालदेखि काठमाडौँ बसेका उनले सुरुवाती दिनमा ज्याला मजदुरीको काम गरे। त्यस कामलाई उनको शरीरले साथ नदिएपछि उनी जुत्ता बनाउने तालिम लिन साथीकोतिर लागे। ३ महिनाको तालिमपछि लागे डिल्लीबजार जाने बाटोमा, जुत्ता सिलाउन। 

अहिले कामेश्वरले काम गर्ने ठाउँमा घर बनेर साँघुरो भएको छ। तर, पनि जसोतसो जुत्ता सिलाइरहेकै छन्। अब यहाँ २ बर्ष काम गरेपछि भने आफ्नै गाउँमा कुटो-कोदालो गरेर, परिवारसँग बसेर बाँकी जीवन काट्ने इच्छा छ उनको। कामेश्वरलाई अझै दुईबर्ष काठमाडौँ बस्नुपर्ने बाध्यता हुनुको कारण हो, ४ लाख ऋण। 

त्यसैले पनि उमेरले ५० छुन आँटेका उनी हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्ममा जुत्ता सिलाउँछन्। 

‘१० जनाको परिवार पाल्न पर्न गाह्रो, महिनामा बढीमा २० हजार कमाइ हुन्छ। रुमको भाडा ५ हजार छ। दिनमा काम चल्यो भने हजार, १२ सय हुन्छ। नचलेको दिन ३/४ सय हुन्छ। त्यसैमा चित्त बुझाउनु पर्छ। आत्तिएर हुँदैन। हाम्रो त गरिब जिन्दगी हो। आत्तिएर केही भइदियो भने, घर परिवारलाई गाह्रो हुन्छ त्यसैमा रमाउनुपर्छ खानुपर्छ,’ उनी हास्दै दुखेसो पोख्छन्। 

उनलाई काठमाडौँबाट गाउँ फर्किएपछि सकेसम्म काम गर्ने नसके छोरा छोरीलाई हेर्छन् भन्ने लागेको छ। किनभने अहिले उनकी छोरी पनि ठूली भइसकिन। 

जुत्ता सिलाउने कामबाट सन्तुष्ट छन्। कहिलेकाही कमाई नहुँदा पनि मनलाई सम्झाउन उनी। 

‘अब आज भएन भोलि, भोलि पर्सी हुन्छ भन्ने आस छ। बर्षात महिनामा खर्च नभएपनि खर्च मेलमिलाप गरेको छु, कसैसँग सरसापट गरेर भएपनि। गरिब जिन्दगी भनेको त्यही हो क्या! कभि खुसी, कभि गम,’ उनी निराश देखिए। 

घरमा दुई आमालाई स्याहार-सुसार गर्नुपर्दा कामेश्वरकी श्रीमती कतै हिँड्न पाउँदिनन्। अहिले चैं बुहारी भएकोले कहिलेकाही काठमाडौँ बोलाउँछन् कामेश्वरले। श्रीमती काठमाडौँ आएको बेला कोठा सफा गरिदिन्छिन्। अनि घर जान्छिन्। श्रीमती यहाँ आएको बेला खुसी लाग्छ उनलाई। 

‘एकसरो लुगामा कमाउन इन्डिया भागें’
कामेश्वर सानै हुँदा उनका बुवा बिते। घरमा कमाउने मान्छे भएनन्। घरमा मात्र आमा थिए। तीन वटा बहिनीहरूको विवाह गर्नुपर्ने थियो। एउटै छोरा भएकाले पनि परिवारको अभावलाई पूर्ति गर्ने जिम्मेवारी उनको काँधमा आइपर्यो। 

त्यसबेला गाउँका मान्छेहरू पैसा कमाउन पञ्जाव, दिल्ली गइराखेको थिए। उनलाई पनि जाने मन भयो। अनि गाउँका केटाहरूलाई जाने बेला खबर गर्न भनेको भनेका रैछन्। तर, उनीहरूले खबरै गरेनन्। 

त्यसपछि उनी शरीरमा भएको एकसरो लुगामै दौडिए, ती साथीहरूलाई पछ्याउन। त्यो बेलामा १५० रूपैँया नेपाली बोकेर हिँडेका उनी बेलुका ४ बजे बोर्डरमा पुगे। भारत जाने दाइहरू बोर्डर ६ बजेको गाडी पर्खँदै बसेका रैछन्। त्यसपछि दाइहरू लुक्न थाले, कामेश्वरले देखिहाले। 

‘यत्रो सानु बच्चा पनि हामीसँग जान लागेको, काम गर्ने ठाउँमा कसले ख्वाउँछ, कसले पाल्छ, कुनै काम गर्न सक्दैन भन्यो। तर, अब आइसक्यो भन्यो एउटाले केही गर्न नसके भान्सैमा राखिदिन्छु,’ ती दाइहरूले भनेको सम्झिए उनले। 

भारत गएपछि उनले ज्याला मजदुरीको काम पाए। मान्छे सानो भएपनि उनको काम देखेर हप्तादिनमै ३५ रूपैँयाको ज्याला ६० पुर्याइदिए ठेकेदारले। अझ त्यसमा पनि कहिलेकाही २०/२५ रूपैँया टिप्ससमेत पाउँथे। 

तर, जति राम्रो भएपनि २ बर्ष काम गरेपछि कामेश्वरलाई इन्डिया बस्नै मन लागेन। पकेटमार, डाका, चोरी, लुटपाट हुन थालेपछि उनी घर आए।  केही महिनापछि घरमा बसे र विवाह गरे। त्यसको ५ दिनपछि काठमाडौँ आए। 

‘इन्डिया २ बर्षजति बस्न मन लागेन। त्यता पनि ज्यामी काम गरेको। ज्याला राम्रै थियो। २ बर्ष काम गर्यौँ बस्न मन लागेन अनि जाऊँ आफ्नै काठमाडौँ भनेर आएको। अलि अलि काठमाडौँमा पनि ज्यामी काम गर्यौँ राम्रोसँग गर्न सकेन। अनि आएको जुत्ता सिलाउन,’ उनले सुनाए। 

ग्राहकको बार्गेनिङ देखि हैरानी 
कामेश्वरले काठमाडौँ आएर काम त सिके तर सामान जुटाउन गाह्रो पर्यो। २०५१ सालमा सामान ६ सय रूपैँयाको किनेको उनी सम्झिन्छन्।  त्यसपछि अहिलेसम्म त्यही ठाउँमा छन् कामेश्वर। 

सामान महंगो हुन्छ। त्यही माथि, ग्राहकहरू पनि बार्गेनिङ गर्ने भएकोले कैले छुटकारा पाइएला भन्ने भएको छ, उनलाई। 

‘यहाँ लाग्ने सामान कैले विराटनगरबाट ल्याउँछु काठमाडौँमा पनि कुनैकुनै ठाउँमा पाइन्छ तर महंगो पर्छ। सुरुमा सामान किन्दा ६ सय रूपैँया पर्यो। मलाई था भएअनुसार त्यो बेलाको १० रूपैँयाको सामान अहिले १०० रूपैँया लिन्छ। तर, मान्छे भने बार्गेनिङ गर्न थाल्छ। अहिले जुत्ताको ठाउँठाउँमा मेला लागेको छ। जुत्ता लिँदा सस्तो, बनाउन महंगो पर्छ,’ उनले भने। 

सरकारसँग गुनासो
काठमाडौँ महानगरपालिकाले सडकपेटीमा काम गर्न नदिए पनि उनले भने अहिलेसम्म काम गरिराखेका छन्। तर बेला बखत उनलाई डर लाग्छ। नगरपालिकाको गाडीले अहिलेसम्म १०/१५ पटक सामान उठाउन ताकेता लगाएपनि जाने ठाउँ नभएपछि उनी त्यही ठाउँमा बसेर काम गरिराखेका छन्।

‘फलानो ठाउँमा यस्तो काम गरेको छ भन्दै गाडी पठाइदिन्छ। सामान हटा रे भन्दै आउँछ। तर यहाँ नबस भन्दै दबाब भने दिएको छ। १०/१५ पटक हप्काइसक्यो। म चाही दुइवटा खम्बाको चेपमा बसेको छु। कसैलाई गाह्रो पारेको छैन। फोहोर गरेको छैन। म आफै सफा गर्छु,’ उनले दुखेसो पोखे। 

स्थानीय सरकारले काम गर्न दिनुपर्छ भन्ने उनको माग छ। स्थानीय तहमै सरकारले काम दिएको भए उनी काठमाडौँसम्म आउनु नपर्ने थियो। तर, स्थानीय नेताहरूले आफ्नालाई अवसर दिएकोमा सरकारप्रति आक्रोश पोख्छन्। 

‘हामी गरिबलाई हेर्दैन। भएको बजेट त खाइदिन्छ। अब आफ्नालाई मिलाउने हो। अरूलाई हेर्दैन। सबको उपर भगवान छ। मुख दियो भने त आहार अवश्य दिन्छ। नेपाल सरकार त यही हो, हुनेलाई बोरा बोरा हुन्छ नहुनेलाई यहाँ बाटोमा पनि हुँदैन,’ उनले सुनाए। 

‘गरिबीले छोराछोरी पनि पढ्न पाएनन्’
आफूले सानैदेखि दुख पाएपनि कामेश्वरले २ वटा छोरा एउटा छोरीलाई काठमाडौँ नै राखे। तर, गरिबीको कारणले खान लाउन नै नपुग्ने भएपछि श्रीमतीसहित छोराछोरी सप्तरी गए। छोराहरूले जम्मा ४ कक्षा मात्रै पढ्न पाए। 

उनले एउटा छोरी एउटा छोराको विवाह गरिदिइसके। 

बाबुको जस्तै उनका छोराछोरीले पनि सानै उमेरदेखि दुख पाए। कमाउने १ जना खाने १० जना भएपछि कामेश्वरका छोराछोरीले पढ्न पाएनन्। तर, अहिले भने गाउँ जाँदा गाउँका केटाकेटी पढ्न गएको देख्दा कामेश्वर दंग पर्छन्। गरिबीको कारण आफू र छोराछोरी पढ्न नपाएपनि नातिनातिनालाई भने पढाउने धोको छ। 

‘जागिर त छैन। अब आफूसँगै परिवारको पेट त भर्नुपर्छ। उसका पनि छोराछोरी छ। सरकारले पनि हेर्दैन। केही भयो भने, हामी त मर्ने नै हो, त्यसैले पढ्न पाएन उनीहरुले पनि अहिले गाउँमै मजदुरी गर्छन्,' उनी आशावादी देखिए। 

कामेश्वर आफूले जानेको काम छोराहरूलाई पनि सिकाउन चाहन्छन्। छोराहरू पनि सिक्न चाहन्छन् तर, उनीहरू एकातिर आफू एकातिर भएकोले समय नमिलेको बताउँछन्।

‘छोराहरूले यो काम सिक्छु भन्छ तर, उनीहरू आफ्नै कामतिर लागेको छ। अब म पनि यता छु। समय नै मिल्दैन। होइन भने, एउटा सीप सिक्दा राम्रै हुन्छ,’ उनले सुनाए। 

उनलाई जीवनमा एउटै कुराको पछुतो- जुत्ता सिलाउने काम गरेर पनि अरूले छोराछोरी पढाए तर, आफूले पढाउन सकिएन।  

असार ३०, २०८१ सोमबार १७:४६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।