जो पहिलोपटक मन्त्री बने

जो पहिलोपटक मन्त्री बने

काठमाडौं : चौथोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद बनाएका छन्। ओलीसहित सबै मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको सपथ लिए। 

झन्डै दुइतिहाई नजिकको प्रधानमन्त्री बनेका ओलीको सरकारमा युवादेखि वृद्वसम्मका मन्त्रीहरू अटाएका छन्। मन्त्रिपरिषद्‌मा १० नयाँ अनुहार छन्। १२ जना मन्त्री पुरानै अनुहार हुन्।

मन्त्रिपरिषद्‌मा कांग्रेसले धेरै नयाँ अनुहार पठाएको छ। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नयाँ अनुहार हुन्।

अझ शेखर-गगन समूहबाट बनेका चारैजना मन्त्री नयाँ अनुहार हुन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी नयाँ अनुहार हुन्।

एमालेले पठाएका रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि नयाँ अनुहार हुन्। 

असार ३०, २०८१ सोमबार १३:५३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।