राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीको शपथ सुरु गरे लगत्तै प्रचण्डले मुन्टो बटारे

राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीको शपथ सुरु गरे लगत्तै प्रचण्डले मुन्टो बटारे

काठमाडौं : सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्यूत भएका एमाले अध्यक्ष केपी ओली तीन वर्षपछि सत्तामा फर्किए।

२०७८ असार २८ मा सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशले ओली सत्ताच्यूत भएका थिए। सर्वोच्चको परमादेशपछि माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह लगायतको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए।

सोमबार नेपाली कांग्रेसको समर्थनमा ओली सत्ता नेतृत्वमा फर्किए। परमादेशसँगै सुरु भएको कांग्रेस-माओवादी केन्द्रको सहकार्य २०७९ मंसिर ४ को निर्वाचनपछि भत्काएर पार्टीलाई ओलीले सत्ताधारी बनाएका थिए।

राष्ट्रपति को भन्ने एमाले-माओवादीबीचको विवादले पुन देउवा-प्रचण्डबीच सहकार्य भए पनि राष्ट्रिय सभा अध्यक्षको विवादमा ओलीले कांग्रेस-माओवादी सहकार्य टुटाएर अन्तमा आफै प्रधानमन्त्री बने।

१८ महिनामा तीन पटक सत्ता साझेदार बदलेका प्रचण्डले उथलपुथल र जादुई नम्बर भन्दै बसे। बजेटलाई बहाना बनाएर ओलीले कांग्रेससँग सहकार्यको बाटो खोले।

विश्वासको मत लिँदा प्रतिनिधि सभामा बृहत् बाम एकताको प्रस्ताव देखाएर ओलीले आफूलाई झुक्क्याएको भन्दै पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका थिए।

संसद्मा देखिएको उनको आक्रोश प्रधानमन्त्रीको रूपमा ओलीले शपथ खाँदा पनि देखियो। ठुस्स परेका प्रचण्ड राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीको शपथ खुवाउँदा मुन्टो बटारेर बसेका थिए।

असार ३०, २०८१ सोमबार १३:१४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।