को थिए ट्रम्पलाई आक्रमण गर्ने २० वर्षीय युवक थोमस म्याथ्यू क्रक्स ?

को थिए ट्रम्पलाई आक्रमण गर्ने २० वर्षीय युवक थोमस म्याथ्यू क्रक्स ?

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने युवकको पहिचान २० वर्षीय थोमस म्याथ्यू क्रुक्सको रूपमा आइतबार नै भयो।

स्थानीय नर्सिङ होमको भान्छामा काम गर्ने उनको तस्बिर एफबीआईले सार्वजनिक नगरे पनि आइतबारदेखि नै सामाजिक सञ्जालमा छाएको छ।

आइतबार विहान पेन्सिलभेनियाको बटलरमा एक र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएको थियो। ती मध्ये एउटा गोली उनको कान छेडिँदा ट्रम्पको अनुहारमा रगत देखिएको थियो।

सुरक्षा निकायको कारबाहीमा आक्रमणकारी घटनास्थलमै मारिएका थिए। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

थोमस म्याथ्यु क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका स्थानीय हुन्। अनुसन्धान एजेन्सीहरूले डीएनए र फेसियल रिकग्निसन टेक्नोलोजी मार्फत आक्रमणकारीको पहिचान गरेका हुन्।

आक्रमणकारी युवकले एआर-१५ सेमी-अटोमेटिक राइफलबाट गोली चलाएका थिए। राइफल आक्रमणकारीको बुवाले केही महिनाअघि खरिद गरेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार स्थानीय मतदाता सूचीले आक्रमणकारी रिपब्लिकन पार्टीका सदस्य रहेको खुलासा गरेको छ।

असार ३०, २०८१ सोमबार १२:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।