सिमलताल बस दुर्घटना, दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने उपकरण प्रयोग

सिमलताल बस दुर्घटना, दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने उपकरण प्रयोग

काठमाडौं : असार २८ गते शुक्रबारदेखि त्रिशुलीमा हराइरहेको बस र यात्रुको खोजीको लागि सोमबार बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाइस मार्फत खोजीकार्य शुरू गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नेपालमा भएको मध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनी साउण्ड वेभ पठाई त्यहाँ रहेका वस्तुहरूलाई स्क्यान गरी आकृतिको रूपमा देखाउने प्रविधि हो।

यसअघि पनि सशस्त्र प्रहरी बल नेपाल विद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भएपनि त्यसको क्षमता कम भएकोले अपेक्षाकृत परिणाम प्राप्त हुन सकेको थिएन।

तर सोमबार प्रयोग गरिएको सोनार डिभाइस उच्चतम प्रविधिको साधन रहेको र यसको क्षमता २ सय मिटर गहिराइसम्मको जुनसुकै वस्तु पनि पत्ता लगाउने रहेको छ।

धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउण्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने प्रकारको रहेको छ।

उनका अनुसार मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ। यो प्रविधिबाट सफलता मिल्ने विश्वास समेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ।

असार ३०, २०८१ सोमबार ११:२८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।