हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायली सेनाको दाबी

हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायली सेनाको दाबी

एजेन्सी : इजरायली सेनाले हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको दाबी गरेको छ।

गाजामा शनिबार भएको हवाई आक्रमणमा सलामा मारिएको सेनाले दाबी गरेको हो। यद्यपि हमासले यसको पुष्टि  गरेको छैन।

सलामा खान युनिस ब्रिगेडका कमाण्डर भएको इजरायली सेनाले बताएको छ। सलामा अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणको ‘मास्टरमाइन्ड’मध्ये एक भएको सेनाको दाबी छ।

सलामा हमासका सैन्य कमाण्डर मोहम्मद दफादका नजिकका सहयोगी थिए।

हमासद्वारा सञ्चालित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको खान युनिसमा रहेको शरणार्थी शिविरमा आक्रमण गरेको बताएको छ।

खान युनिस नजिकै अल-मासावी क्षेत्रमा भएको आक्रमणमा ११४ प्यालेस्टाइनी मारिएको र ४०० जना घाइते भएको मन्त्रालयले जनाएको छ।

इजरायलले आक्रमणलाई जायज ठहर्याउँदै हमासका वरिष्ठ नेताहरू त्यहाँ उपस्थित रहेको र उनीहरूलाई मात्र निशाना बनाइएको बताएको छ।

तर हमास नेताहरूले इजरायलको दाबी गलत भएको बताएका छन्। हमास नेताहरूको उपस्थितिको बहाना गर्दै इजरायली प्यालेस्टाइनी नागरिकलाई निशाना बनाएको उनीहरूको आरोप छ।

असार ३०, २०८१ सोमबार १०:५३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।