अग्ला डाँडामा अर्थहीन भ्यू टावर

अग्ला डाँडामा अर्थहीन भ्यू टावर

बुटवल : संघ, प्रदेश र स्थानीय तहले अनावश्यक भ्यू टावर निर्माण र स्वागत एवं प्रवेशद्वारमा करोडौं रुपैयाँ खर्च गरे पनि त्यसको उपयोगिताबारे प्रश्न उठ्न थालेको छ।

आम नागरिकका आधारभूत सवाललाई चासो दिन छाडेर करोडौं बजेट खर्च गरेर गाउँको अग्ला डाँडामा अर्थहीन भ्यू टावर बनेपछि यसको उपयोगिता बारे प्रश्न उठेको हो।

अहिले पनि जनताहरू आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल, सिचाइंबाट बञ्चित भएपनि गाउँको अग्लो डाँडोमा गगनचुम्बी भ्यू टावर बनेका छन्। कतै भने स्थानको पहिचानको नाममा बेअर्थी स्वागतद्वार बनेका छन्।

यस्ता अनुत्पादक क्षेत्रमा बर्सेनी राज्यको करोडौं लगानी भए पनि यसले आम नागरिक र स्थानीय सरकारले फाइदा लिन सकेका छैनन्। बरु केही स्वार्थ समूहलाई यस्ता संरचनाले मालामाल बनाइरहेको छ।

०००

साढे ११ करोड रुपैयाँको लागतमा रुपन्देहीको तिलोत्तमा स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (बन बाटिका)मा निर्माण भएको ‘बहुउद्देश्यीय भ्यू टावर’ २०७८ साल चैत १५ गते उद्घाटन भयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले तामझाम सहित उद्घाटन गरेको भ्यूटावर अहिले उपयोगविहीन छ।

बुहउद्देश्यीय नाम दिएको यो भ्यू टावर बने पनि अन्य पूर्वाधार अझै बनेका छैनन्। परिणामत उद्घाटनको दुई वर्ष पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन। टावरको उद्घाटन भए पनि त्यहाँ पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट बनाउनुपर्ने धेरै काम बाँकी छन्।

दोस्रो चरणमा यी संरचना तयार गर्ने भनेर ठेक्का बोलकबोल समेत भएको हो। तर, ठेकेदारले अहिले सम्म सम्झौता गरेको छैन। दोस्रो चरणको संरचना निर्माणका लागि संघ सरकारको ५ करोड बजेट नआउँदा संरचना पूरा नभएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

वन वाटिकामा बनेको उक्त भ्यु-टावर १० तलाको छ, जसको उचाइ १३४ फिट छ। कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा बनेको भ्यू-टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालय लगायतका संरचना रहने भनिएको छ।

दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका भित्र तीनवटा भ्यू टावर बनाइएको छ। गाउँपालिकाको वडा नं. ८ को हाँसिपुर, वडा नं. २ को धिमधिमे लेक र वडा नं. ५ को बंगलाचुलीमा भ्यू टावर छन्। यी कुनै पनि भ्यू टावरलाई स्थानीयले आयआर्जनसँग जोडेका छैनन्। ती टावर बनाउन गाउँपालिकाले दुई करोड रूपैयाँभन्दा बढी खर्च गरेको थियो।

गाउँपालिकाका अध्यक्ष तुल्सीराम बुढाले पर्यटकीय विकासको रूपमा भ्यू टावर बनेको दाबी गरे।

उनले भने, ‘मनोरम दृश्यावलोकन गर्न टावर बनाइएको हो। तर, यसबाट गाउँपालिकाले आयआर्जन भने गर्न सकेको छैन।’

तुलसीपुर उपमहानगरपालिका-१९, छिल्लिकोटको पहाडमा २५ लाख रूपैयाँ लागतमा बनेको भ्यू टावर पनि नाम मात्रको छ। बर्खामा भने यो टावरमा पुग्नै मुस्किल पर्छ। वडा नं. १९ का वडा अध्यक्ष प्रेमनाथ योगी भ्यू टावर सञ्चालनमा भए पनि अहिले भने बन्द अवस्थामा रहेको बताए।

‘बर्खा लाग्यो। त्यसैले गाडि जान सक्दैनन्। अहिले बन्द जस्तै छ,’ उनले भने, ‘भ्यू टावरलाई अझै व्यवस्थित गर्न जरुरी छ।’

तुलसीपुर उपमहानरपालिका-११, सुकौरास्थित प्राचीन थारु राजा दंगीशरणको दरबार क्षेत्रमा झन्डै ५० लाख रुपैयाँ खर्च गरेर भ्यू टावर बनाइएको छ।

लमही नगरपालिका-५ को अजम्बरी सामुदायिक वन हाताभित्र झन्डै साढे दुई करोड रूपैयाँ खर्च गरेर पाँच तले भ्यू टावर खडा गरिएको छ। यसबाट पनि गाउँपालिकाले आम्दानी लिन सकेको छैन।

७ करोड रुपैयाँ खर्च गरेर माओवादीको आधार इलाका रोल्पाको रोल्पा नगरपालिका लिवाङमा १० तले भ्यू टावर बनेपनि यसबाट नगरपालिकाले सोचे अनुसार आम्दानी लिन सकेको छैन।

जनयुद्ध स्मृति नामक भ्यू टावरको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०७८ चैतमा उद्घाटन गरेका थिए। दुई हजार ५५ मिटर उचाइमा बनाइएको भ्यू टावर ११२ फिट अग्लो छ।

अहिले नगरपालिका आफैँले भ्यू टावर सञ्चालन गरेको छ। प्रवेशका लागि प्रति व्यक्ति ५० रुपैयाँ लिने गरेको छ। पछि निजी क्षेत्रलाई दिने तयारी रहेको नगरपालिकाकाी उपाध्यक्ष गीता आचार्यले बताइन्।

‘नगरपालिकाले आम्दानी लिने भनेको प्रवेश शुल्क मात्र हो,’ उनले भने, ‘यो अझै व्यवस्थित गर्नुपर्नेछ।’

रोल्पाकै थवाङ गाउँपालिकाले पनि जलजलामा २५ लाख रुपैयाँ लागतमा भ्यूटावर निर्माण गरेको छ। त्रिवेणी गाउँपालिकाको टिलामा पनि लुम्बिनी प्रदेश सरकारको २५ लाख रुपैयाँमा भ्यूटावर निर्माण गरेको छ। त्यस्तै होलेरी एकीकृत पर्यटन विकास अन्तरगत गढीलेखमा पनि भ्यूटावर निर्माण गरिएको छ। तर, यी सबै भ्यू टावरबाट स्थानीय तहले गतिलो आम्दानी लिएका छैनन्।

यी प्रतिनिधि उदाहरण मात्र हुन्। लुम्बिनी प्रदेशका १२ जिल्लामै भ्यू टावरै भ्यू टावर छन्। गुल्मीको रेसुंगा, पाल्पाको श्रीनगर, बाँके, कपिलबस्तुको जगदिशपुर ताल, अर्घाखाँचीको शंखेटारी लगायतका ठाउँमा पनि भ्यू टावर छन्। भ्यू टावर मात्र होइनन्, गाउँ र बजार क्षेत्रमै स्वागत र प्रवेश गेटको पनि बिगबिगी छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डन्डाखोला नजिक पर्यटकीय गेट निर्माण भएको छ। करिब ७ करोडको लागतमा निर्माण गरिएको यो गेट अर्थहीन छ। बेलहिया नाका भन्दा झण्डै ७ सय मिटर अगाडि बनाइएको यो पर्यटकीय गेटको निर्माणमै समस्या छ। गेट बाङ्गो छ। भैरहवाकै बुद्धचोक अगाडि लुम्बिनी गेट हुँदाहुँदै र नाका समेत नेपालको गेट रहेकै अवस्थामा पर्यटकीय गेटको औचित्य नभएको भैरहवावासी बताउँछन्।

‘अहिलेको अवस्थामा यो आवश्यकै होइन’
बुटवल बहुमखी क्याम्पसका प्रा. नुरुजङ केसीले भ्यू टावर बनाउनु अहिलेको आवश्यकता नभएको बताए।

‘अझै पनि विद्यार्थीहरू विद्यालय जाँदा तुइनमा झुन्डिएर जानुपरेको छ। आधारभूत सेवा जनतामा पुगेकै छैन। यो अवस्थामा भ्यू टावर आवश्यकता होइन’, उनले भने।

उनले जनताको आवश्यकता पहिचान नगरी पुँजीगत खर्च बढाउने उद्देश्यले मात्र भ्यू टावर बनाउने गरिएको बताए। साथै उनले नेताले आफ्नो पहिचान देखाउन पनि भ्यू टावरमा जोड दिने गरेको बताए।

‘भ्यू टावर आवश्यक छैन। बाटोमा पुल बनाउने, बाटो मर्मत गर्ने काम बाँकी नै छन्। जनताका सामान्य आधारभुत कुरालाई जोड दिनु पर्दथ्र्यो। तर त्यसो नगरी नेताले आफ्नो पहिचान देखाउन यो काम गरेका छन्’, उनले भने।

असार ३०, २०८१ सोमबार ०९:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।