ट्रम्पलाई गोली लागेको भोलिपल्ट अमेरिकी राष्ट्रपति बाइडेनद्वारा राष्ट्रको नाममा सम्बोधन

ट्रम्पलाई गोली लागेको भोलिपल्ट अमेरिकी राष्ट्रपति बाइडेनद्वारा राष्ट्रको नाममा सम्बोधन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन्।

राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले आक्रमणमा मारिएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनले अमेरिकी समाजमा हुने हिंसाको बारेमा भनेका छन्, ‘हामी यो बाटोमा जान सक्दैनौँ। यसमा हामी जानु पनि हुँदैन। हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौँ।’

ओभल अफिसबाट आफ्नो दश मिनेटभन्दा कमको भाषणमा उनले राष्ट्रिय एकतामा जोड दिए। अमेरिकामा चर्को राजनीतिक बयानबाजीको यो समयमा शान्त हुनुपर्ने समय आएको उनको भनाइ छ।

यद्यपि, बाइडेन केही रिपब्लिकन नेताहरूले उनीमाथि लगाइएको आरोपबारे मौन रहे। धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पविरूद्ध विभाजनकारी भाषणलाई बढावा दिएको आरोप लगाएका छन्।

पेन्सिल्भेनियाको एक र्यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलापछि बाइडेनले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

उक्त र्यालीमा एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए। गोली ट्रम्पको दाहिने कानको लोतीमा लागेर गएको थियो। घटनापछि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भइसकेका छन्।

यो आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको एफबीआईले जनाएको छ।

असार ३०, २०८१ सोमबार ०७:४५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।