नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई विहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ।

एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेका सांसदहरूको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन्।

प्रधानमन्त्री ओलीले आजै कांग्रेस र एमालेका मन्त्रीहरू सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्दैछन्। कांग्रेसले मध्यरात सरकारमा सहभागी हुने नौ मन्त्रीहरूको नाम टुङ्ग्याएको छ।

कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री सहित सरकारको नेतृत्व गर्ने तय भएको छ। उनले लिने मन्त्रालय तय भएको छैन।

देउवा समूहबाट गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री  आरजु देउवा, वन अथवा कानूनमन्त्री अजय चौरसिया र शहरी विकास मन्त्री किशोरसिंह राठौरको नाम तय भएको छ।

शेखर-गगन समूहबाट स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पर्यटन मन्त्रीमा रामनाथ अधिकारीको नाम तय भएको छ। हृदयराम थानी पनि मन्त्री बन्दैछन् भने तेजुलाल चौधरी पनि मन्त्री बन्ने निश्चित भएको छ। तर, मन्त्रालय निश्चित भएको छैन।

उता एमालेले पाएको आठ मन्त्रालयमा मन्त्रीको नाम टुङ्गो लगाए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन। एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा छ।

असार ३०, २०८१ सोमबार ०७:३२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।