सत्ताबाट हट्नै मन छैन नारायणकाजीलाई, नयाँ परराष्ट्रमन्त्रीको सल्लाहकार भएपनि बस्ने इच्छा

सत्ताबाट हट्नै मन छैन नारायणकाजीलाई, नयाँ परराष्ट्रमन्त्रीको सल्लाहकार भएपनि बस्ने इच्छा

काठमाडौं : उपप्रधान एवं परराष्ट्रमन्त्रीबाट विदा भएका नारायणकाजी श्रेष्ठले नयाँ परराष्ट्रमन्त्री समक्ष सल्लाहकार बन्नका लागि निवेदन दिने बताए।

आइतबार परराष्ट्र मन्त्रीबाट बिदाइ हुने आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालयका अपूरा कामहरु पूरा गर्नका लागि सल्लाहकार बन्न निवेदन दिन मन लागेको बताए। तर, उनको आशयमा भने सत्ताबाट हट्नै मन नभएको जस्तो थियो। 

‘मैले त भनेको पनि थिएँ अर्को मन्त्रीज्यू आउनुहोला, एउटा निवेदन त मैले हाल्नै पर्ला जस्तो लागेको छ। मलाई भोलेन्टियर भने पनि सल्लाहकार बनाउनुस् न तपाईंले केही समयका लागि। पुरै समय त म दिन सक्दैन। तर यो केही कामहरू चाहिँ छ परराष्ट्र मन्त्रालयको पूरा गर्नका लागि म लाई भोलेन्टियर तपाईंले सल्लाहकार बनाउनुस् न भन्नुपर्ला जस्तो मलाई लागिरहेको छ,’ उनले भने। 

कांग्रेस-एमाले गठबन्धनबाट एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा परराष्ट्र मन्त्री बन्ने चर्चा छ। माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले आफूले भनेजस्तै नयाँ परराष्ट्र मन्त्रीको सल्लाहकार बन्न निवेदन दिएमा उनी आरजु देउवाको सल्लाहकार बन्ने छन्।   

असार २९, २०८१ आइतबार २०:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।