ओलीको नेतृत्वमा शेखर-गगन मन्त्री बन्न नमान्दा प्रकाशमानलाई चिट्ठा

ओलीको नेतृत्वमा शेखर-गगन मन्त्री बन्न नमान्दा प्रकाशमानलाई चिट्ठा

काठमाडौं : शेखर कोइराला र गगन थापा पार्टीको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारमा जान इच्छुक नहुँदा प्रकाशमान सिंहले उपप्रधानसहित नेपाली कांग्रेसको नेतृत्व गर्ने भएका छन्।

प्रकाशमानको नेतृत्वमा सरकारमा जानेबारे पार्टीमा सहमति भए पनि मन्त्रालय भने टुंगिएको देखिएन। पार्टी सभापति देउवाले प्रकाशमानलाई कानुन वा संघीय मामिला मन्त्रालयसहित पठाउने तयारी गरेका छन्। विश्वस्त स्रोतको दाबी अनुसार उनले भौतिक योजना मन्त्रालय मागिरहेका छन्।

एमाले अध्यक्ष ओली गगनकै नेतृत्वमा कांग्रेस सरकारमा आओस् भन्ने पक्षमा देखिएका छन्। आन्तरिक रूपमा छलफल पनि भएको थियो। 

मन्त्री बन्न दवाव बढेपछि गगनले सार्वजनिक कार्यक्रममा मन्त्री नबन्ने बताएर आफ्नोतर्फबाट च्याप्टर बन्द गरे। 

‘२०८२ सालमा महाधिवेशन गर्नुपर्ने छ। संगठनमा काम गर्नुपर्ने छ। सरकारमा जाँदा पार्टीको काममा असर छ,’ गगनको भनाइलाई उधृत गर्दै एक नेताले भने, ‘संसद भित्रबाट सरकारलाई सहयोग र उत्तरदायी बनाउने मेरो भूमिका हुन्छ।’ 

गगन नआए शेखर कोइरालाबाट नेतृत्व गराउने प्रयास भएको थियो। तर, उनले पनि नमानेको छलफलमा सहभागी स्रोतको दाबी छ।

शेखर-गगन दुबैले सरकारमा जान नमाने पनि दुबैले प्रदीप पौडेललाई मन्त्री बनाउन प्रयास गरिरहेका छन्। 

माओवादी-कांग्रेस गठबन्धन सरकारमा गगन प्रतिपक्षको सांसद बराबर आलोचक भएका थिए। गगन वा शेखर समूहबाट सरकारको नेतृत्व भए संसदमा सत्ताधारी दलकै सांसदबाट सरकारको कामको आलोचना नहुने ओलीको बुझाई देखिन्छ। तर, उनको प्रयास सफल भएन।

दुबै सरकारमा नजाने भएपछि रमेश लेखककै नेतृत्वमा जानेबारे छलफल भए पनि ओलीले सिनियर नेतालाई नेतृत्वसहित पठाउन आग्रह गरेका थिए।

माओवादी सरकारमा पूर्णबहादुर खड्काको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै देउवा विकल्पमा जाँदा प्रकाशमानको प्रवेश भएको देखिन्छ। उपसभापतिसमेत रहेका खड्का कांग्रेस-एमाले मिलनको पक्षमा पनि थिएनन्। त्यसकारण पनि एमालेले समेत उनलाई सरकारमा ल्याउन चाहेन। 

प्रकाशमानको स्वास्थ्य अवस्था सहज देखिन्न। हालै उनी भारतमा उपचार गरेर फर्किएका थिए। गृहमन्त्रीको रूपमा रमेश लेखककै नाम छ।

परराष्ट्र मन्त्रालय एमालेले लिनेगरि छलफल अगाडि बढेकै बेलामा आरजु राणाले मन्त्री बन्न इच्छा देखाएपछि एमालेले दाबी छाड्यो।

दुबै दलको शीर्ष नेताबीच गृह, रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाई, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला र वन तथा वातावरण मन्त्रालय कांग्रेसको भागमा परेको छ।

शेखर-गगन समूहले आफ्नो पक्षका लागि चार मन्त्रालय मागेका छन्। शशांक कोइरालालाई एक र कृष्णप्रसाद सिटौलालाई एक मन्त्रालय दिनुपर्ने भन्दै देउवाले भने शेखर-गगनलाई दुई मन्त्रालय मात्र दिने तयारीमा छन्। 

कांग्रेसमा किशोरसिंह राठौर, रामहरि खतिवडा समेत मन्त्री हुने दौडमा छन्। जीवन परियारको नाम समेत सम्भावित मन्त्रीको सूचीमा छन्। सहमहामन्त्री समेत रहेका परियारले सार्वजनिक रूपमै मन्त्री बन्न इच्छुक रहेको बताउँदै आएका छन्। तर, मन्त्री बन्ने लिस्टमा उनको नाम अझै एकिन भइसकेको छैन। चन्द्र भण्डारीको नाम पनि सम्भावित सूचीमा छन्।

एमालेमा उस्तै सकस
एमाले अध्यक्ष ओलीलाई समेत पार्टीबाट मन्त्री छान्न सकस परेको छ। एमालेको भागमा अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि,शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ।

उपप्रधान तथा अर्थमा विष्णु पौडेलको नाम टुंगिए पनि अन्य मन्त्रालयको नेतृत्व टुंगिएको छैन। गोकुल बास्कोटा, पदम गिरी, पृथ्वी सुब्बा गुरुङ, विद्या भट्टराई, योगेश भट्टराईको नाम सम्भावित मन्त्रीको सूचीमा रहे पनि पक्का भएको छैन। 

असार २९, २०८१ आइतबार १६:५७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।