रिपब्लिनक पार्टीकै मतदाता थिए ट्रम्पलाई गोली हान्ने युवक, तर डेमोक्रेटिकलाई दिएका थिए १५ डलर चन्दा

रिपब्लिनक पार्टीकै मतदाता थिए ट्रम्पलाई गोली हान्ने युवक, तर डेमोक्रेटिकलाई दिएका थिए १५ डलर चन्दा

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या आरोप लागेका २० वर्षीय युवकले डेमोक्रेटिक समर्थित समूहलाई १५ डलर चन्दा दिएको खुलेको छ।

राज्यको संघीय निर्वाचन आयोगको रेकर्ड अनुसार ट्रम्पको हत्या प्रयासमा पाँच राउन्ड गोली चलाएका थोमस म्याथ्यू क्रुक्सले सन् २०२१ मा ‘प्रोग्रेसिभ टर्नआउट प्रोजेक्ट’ नामक डेमोक्रेटिक समर्थित राजनीति समूहलाई १५ डलर चन्दा दिएको खुलेको हो।

यद्यपि उनी रिपब्लिकनको रूपमा दर्ता भएको देखिन्छ। क्रुक्स ट्रम्पमाथि हमला भएको पेन्लिभेनिया भन्दा ३५ माइल दूरीको पिटर्सबर्गको बेथल पार्कमा बस्दै आएका थिए।

स्थानीय मिडिया रिपोट्सका अनुसार उनले २०२२ मा बेथल पार्क हाइ स्कुलबाट स्कुलसम्मको अध्ययन सकेका थिए।

पेन्सिलभेनियाको मतदाता डेटाबेसको एक सूचीअनुसार क्रुक्सलाई रिपब्लिकन मतदाताको रुपमा सूचीकृत गरिएको छ, जहाँ उनको नाम, उमेर, ठेगाना उल्लेख छ। यस वर्षको राष्ट्रपति निर्वाचनमा उनले पहिलो पटक भोट हाल्न पाउँथे।

क्रुक्सले ट्रम्पको र्यालीको सुरक्षा परिधिबाहिरको एक घरको छतमा बसेर ट्रम्पमाथि गोली चलाएका थिए। गोली चलाउनेबित्तिकै उनलाई सिक्रेट सर्भिसका एजेन्टहरूले सुरक्षा कारबाहीमा मारेका थिए।

हत्या प्रयासबाट टम्पको देब्रे कानको माथिल्लो भाग छेडेको समाचार संस्था सीएनएनले जनाएको छ। घटनापछि अस्पताल भर्ना भएका ट्रम्प अहिले त्यहाँबाट डिस्चार्ज भइसके। उनले आफ्ना घटनामा मृत्यु भएका एक जना र घाइते भएका दुई जनाको परिवारप्रति समवेदना समेत प्रकट गरेका छन्।

अमेरिकामा नोभेम्बर ५ तारिखमा राष्ट्रपतीय निर्वाचन हुँदैछ। जसमा रिपब्लिनक पार्टीबाट ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन उठ्दैछन्।

असार २९, २०८१ आइतबार १२:४५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।