एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम

एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सिल्भेनियाको एक र्यालीमा गोली हानेपछि प्रहरी र अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले थप जानकारी दिन पत्रकार सम्मेलन गरेको छ।

पत्रकार सम्मेलनमा एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले घटनालाई हत्याको प्रयासको रूपमा हेरिएको पुष्टि गरे।

उनले भने, ‘आज साँझ हाम्रा पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको हत्या गर्ने प्रयास भएको थियो।’

एफबीआईले गोली प्रहार गर्ने व्यक्तिको नाम पनि सार्वजनिक गरेको छ। ट्रम्पमाथि २० वर्षीय थोमस मथ्यु क्रुक्सले गोली प्रहार गरेको एफबीआईले जनाएको छ। उनको प्रहरी कारबाहीमा मृत्यु भइसकेको छ।

त्यसबाहेक बन्दुकधारीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्यु भएका र घाइते भएका व्यक्तिको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

पत्रकार सम्मेलनमा अमेरिकी सेक्रेट सर्भिसका कुनै पनि व्यक्ति थिएनन्। एफबीआईका विशेष एजेन्ट केभिन रोजेकले यस पत्रकार सम्मेलनमा सेक्रेट सर्भिसका व्यक्ति आउन नपाएको बताए।

असार २९, २०८१ आइतबार १२:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।