नारायणी नदी किनारमा एक पुरुषको शव भेटियो, खोजीका लागि ठाउँ-ठाउँमा प्रहरी परिचालन

नारायणी नदी किनारमा एक पुरुषको शव भेटियो, खोजीका लागि ठाउँ-ठाउँमा प्रहरी परिचालन

चितवन : पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ। सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ।

शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए। अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन्।

भरतपुरको सिमलतालमा २८ गते दुई बस त्रिशुली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको विपद व्यवस्थापन टोली परिचालन गरिएको छ।

खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट  डीएसपीको कमान्डमा ११ गोताखोर सहित ७९ जना, चनौलीमा नम्बर १७ गणबाट डीएसपीको कमान्डमा ११ जना, सिमलतालमा इन्सपेक्टरको कमाण्डमा २५ जना खटिएका छन्।

देवघाटदेखि गोलाघाटसम्म सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा र्याफ्टिङ बोटसहित १५ जना, देवघाट क्षेत्रमा सशस्त्र  प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना र सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा पुलचोक नारायणी नदी किनारमा नौ जना परिचालन गरिएको छ।

असार २९, २०८१ आइतबार ११:३८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।