स्वर्णिमको सचिवालयबाट कुट्ने धम्की आएको मुकुलको आरोप

स्वर्णिमको सचिवालयबाट कुट्ने धम्की आएको मुकुलको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट आफूलाई धम्की दिएको आरोप लगाएका छन्।

आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै डा. ढकालले सांसद समेत रहेका डा. स्वर्णिम वाग्लेको सचिवालयलबाट कुट्ने धम्की आएको बताएका हुन्।

उनले लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक-पटक फोन गरे, फोन उठाइन। मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन...” लगायत अनेक भनेकाले हिजै राती इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’

गए राति हिमालय टेलिभिजनबाट प्रसारित एक अन्तर्वार्तामा डा. ढकालले डा. स्वर्णिममाथि नेपाललाई भारतको राज्य बनाउनका लागि भारतसँग प्रस्ताव गरेको गम्भीर आरोप लगाएका थिए। रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनका लागि स्वर्णिम वाग्लेले भारतीयहरूसँग यस्तो प्रस्ताव गरेको उनले बताएका थिए।

उनले अन्तर्वार्तामा भनेका थिए, ‘स्वर्णिम वाग्लेले मलाई नेपाल देशलाई भारतको राज्य बनाउनका लागि एग्रिमेन्ट गरिदिने। त्यो गरिसकेपछि यिनीहरूले (रविलाई प्रधानमन्त्री बनाउन) मान्छन् भन्नुभयो।’

यो विषय रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएको दुई वा तीन हप्तापछि काठमाडौंको एउटा होटलमा भएको उनले बताएका  थिए। उनले यो विषयमा आफू कन्फिडेन्ट भएको र लाइ डिटेक्सन टेस्ट दिन समेत तयार रहेको बताएका थिए।

‘रवि लामिछानेको हकमा उहाँले ठ्याक्कै राज्य बनाउने कुरा गर्नुभएन,’ उनले भनेका थिए, ‘तर, स्वर्णिम वाग्लेले त नेपाललाई भारतको राज्य बनाउने गरी कुरा गर्नुभयो। त्यहि दिनदेखि मैले उहाँलाई पार्टीको उपसभापति मनबाट मानिनँ र समय आएपछि देखाउँछु भन्ने नै थियो।’

असार २९, २०८१ आइतबार ११:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।