त्रिशुली नदीमा बेपत्ता बस र यात्रुहरूको खोजी गोलाघाटसम्म गरिने

त्रिशुली नदीमा बेपत्ता बस र यात्रुहरूको खोजी गोलाघाटसम्म गरिने

काठमाडौं : त्रिशुली नदीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदिसम्म खोजीकार्य गर्ने सशस्त्र प्रहरीका सह प्रवक्ता  डीएसपी शैलेन्द्र थापाले बताए।

उनका अनुसार अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाईसहरूको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल तथा (भरतपुर महानगरपालिका-१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजीकार्य गर्नेछ।

त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भएको छ।

अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजीकार्य गर्न असहज भएको बताइएको छ। यी डिभाइसहरूले सफा पानी तथा ताल र पाखेरीमा जमेको पानीमा खोजी कार्यको लागि प्रयोग गरिन्छ।

असार २९ गते बेपत्ता भएको बस तथा यात्रुहरूको खोजीको लागि खटिएको सुरक्षा फौजले ३ वटा शव फेला पारेको थियो। खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्।

वीरगञ्जबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०-०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका-२९ सिमलताल असार २८ गते बिहान त्रिशुली नदीमा खसेको थियो।

असार २९, २०८१ आइतबार ०९:४९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।