कोपा अमेरिकामा उरुग्वे तेस्रो

कोपा अमेरिकामा उरुग्वे तेस्रो

एजेन्सी : क्यानडालाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकामा तेस्रो बनेको छ। अमेरिकामा आज बिहान भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टीमा ३-४ ले हराएको हो।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरी सकिएपछि पेनाल्टी सुटआउट भएको थियो। पेनाल्टी सुटआउटमा क्यानडाका दुई खेलाडीले गोल गर्न सकेनन्।

खेलको ८औं मिनेटमा रोड्रिगो बेन्कोरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। त्यसपछि २२औं मिनेटमा क्यानडाका स्माइन कोनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफमा एक-एक गोलको बराबरी भएको खेलको ८०औं मिनेटमा क्यानडाले अग्रता लियो। जोनाथन डेभिडले गोल गर्दै क्यानडालाई जित नजिक पुर्याएका थिए।

तर, खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा उरुग्वेका लुइस स्वारेजले गोल गर्दै बराबरीमा ल्याए। क्यानडा सेमिफाइनलमा अर्जेन्टिनासँग र उरुग्वे कोलम्बियासँग पराजित भएको थियो।

कोपा अमेरिका फुटबलकाे फाइनल भोलि विहान हुँदैछ।

असार २९, २०८१ आइतबार ०८:५०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।