केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै

केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम आज केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन्। ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको हो।

राष्ट्रपति पौडेलले आइतबार साँझ पाँच बजेसम्म नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्।

त्यसपछि प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको तयारी छ। शुक्रबार राति नै एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन्।

प्रधानमन्त्रीका लागि ओलीले दाबी पेश गरेसँगै नेपाली कांग्रेस र एमाले मन्त्री छान्न बैठक बसिरहेका छन्। शपथअघि नै दुवै पार्टीले मन्त्रीको टुंगो लगाउने तयारीमा छन्।

आज नियुक्त भएका प्रधानमन्त्री ओलीको शपथ सोमबार गर्ने राष्ट्रपतिको कार्यालयको तयारी छ।

असार २९, २०८१ आइतबार ०७:३९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।