र्‍यालीमा गोली चलेकोबारे बोले ट्रम्प, कानबाट रगत बगेकोबारे पनि स्पष्ट पारे

र्‍यालीमा गोली चलेकोबारे बोले ट्रम्प, कानबाट रगत बगेकोबारे पनि स्पष्ट पारे

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिल्भेनियामा आफ्नो र्यालीमा भएको गोलीकाण्डको बारेमा बोलेका छन्।

पूर्व राष्ट्रपतिले आफ्नो ट्रुथ सामाजिक सञ्जालमार्फत आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन्।

उनले लेखेका छन्, ‘जब मैले गोलीको आवाज सुन्नेबित्तिकै मैले केही गलत भयो भनेर थाहा पाएँ। त्यतिबेलासम्म गोलीले मेरो छालालाई छोएर निस्किसकेको थियो। कानको छेउबाट रगत निस्किएपछि मात्र मैले के भइरहेको छ थाहा पाएँ।’

यस घटनाको बारेमा तुरुन्तै एक्सनमा उत्रिएकोप्रति पूर्व राष्ट्रपति ट्रम्पले खुफिया एजेन्सीसँगै अन्य कानूनी एजेन्सीहरूलाई पनि धन्यवाद दिएका छन्।

उनले पोस्टमा लेखेका छन्, ‘म र्यालीमा मारिएका व्यक्तिका परिवार र नराम्ररी घाइते भएका अर्का व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु।’

उनले भने, ‘हाम्रो देशमा यस्ता कार्यहरू हुन सक्छन् भन्ने पत्याउनै नसकिने कुरा हो। गोली प्रहार गर्ने व्यक्तिको बारेमा मलाई अहिले नै केही थाहा छैन।’

ट्रम्पले पेन्सलभेनियामा चुनावी र्यालीलाई सम्बोधन गरिरहेको बेला बन्दुकको आवाज आएको थियो।

ट्रम्प बोल्दा बोल्दै पोडियममा लुकेका थिए। केहि समयपछि सुरक्षाकर्मी पुगेर उनलाई उठाएका थिए। उठाउँदा उनको कानबाट रगत बगिरहेको थियो।

असार २९, २०८१ आइतबार ०७:२७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।