शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएका ६ जना लुटिए, लुटेरा समूहले खुकुरी देखाएर बन्धक बनाए

शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएका ६ जना लुटिए, लुटेरा समूहले खुकुरी देखाएर बन्धक बनाए

काठमाडौं : नेपाली सेनाको सुरक्षा घेरामा रहेको शिवपुरी राष्ट्रिय निकुञ्जमा शनिबार हाइकिङ गएका  छ जना लुटिएका छन्। बिहान साढे १० बजे निकुञ्जमा पुगेका छ जनालाई एक समूहले बन्धक बनाएर लुटेका हुन्।

उकेराको सम्पर्कमा आएका एक पीडितका अनुसार उनीहरूको टोली चार जनाको थियो। बूढानीलकण्ठबाट शिवपुरी बाबाको स्थानमा जान लागेका उनीहरूलाई लुटेराको समूहले वाग्द्वार नजिक लुटेका थिए।

उनीहरू अघिपछि केही दूरी राखेर हिँडेका थिए। टोलीको अगाडि एक पुरुष थिए।

जङ्गलमा रहेकाहरूले खुकुरी देखाउँदै उनलाई बन्धक बनाएर उनको साथमा रहेको मोबाइल, घडी, गरगहना र पैसा समेत लुटेका हुन्। लुटेराहरू मार हान्न प्रयोग हुने खुकुरीसहित चार जनाको समूहमा थिए।

केहीले अनुहार छोप्न मुखुण्डो लगाएका थिए। लुटेरा समूहमा रहेकामध्ये एक जनाले लुट्ने, दुई जना वरपर हेर्ने र अर्कोले हात बाँधेर बन्धक बनाउने गरेका थिए।

पहिलो व्यक्तिलाई नियन्त्रणमा लिए लगत्तै उनीपछि आउने सबै पाँचै जनालाई उस्तै शैलीमा उनीहरूले नियन्त्रणमा लिएर बन्धक बनाउँदै उनीहरूको साथमा रहेको मोबाइल लगायत सबै लुटेका थिए।

छ जनालाई नै बन्धक बनाएर लुटेपछि उनीहरू मूल बाटो छाडेर अर्कै बाटोमा भागेका थिए। पीडितहरूलाई भने बन्धकै बनाएर छाडेका थिए।

आधा घण्टापछि बन्धक भएकाहरू मुक्त भएर फर्किएर बुढानीलकण्ठ प्रहरी प्रभागमा उजुरी गरेका थिए।

बुढानीलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक युवराज खतिवडाले शिवपुरी ‘निकुञ्जमा गएकाहरू लुटिएकोबारे उजुरी परेको पुष्टि गरे।

‘उजुरी परेको छ,’ उनले भने, ‘थप हामीले सोध्नै बाँकी छ।’

निकुञ्ज नेपाली सेनाको सुरक्षा घेरामा रहेको छ। पीडितले घटनाबारे सेनालाई समेत जानकारी दिएका थिए।

केही दिनअघि काठमाडौंको तारे भिरमा गएकी एक महिलालाई बन्धक बनाएर  मोबाइल लुटिएको थियो। चम्पादेवीमा हाइकिङ गएकाहरू समेत लुटिएका थिए।

असार २८, २०८१ शनिबार २२:४०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।