वर्षेनी डेढ लाख धार्मिक पर्यटक गुमाउँदै बराहक्षेत्र धाम
बराहक्षेत्र : जब वर्खायाम सुरू हुन्छ, सुनसरीको बराहक्षेत्र मन्दिर आसपासका बासिन्दाको दिन-रात त्रासमै बित्छ। दिनभर भारी वर्षा हुँदा रातभरि तनावको स्थिति झेल्न बाध्य छन् उनीहरू। अनि यो बाध्यता ०५१ सालदेखिकाे हाे, जतिबेला यहाँ बस्ती बस्न थाल्याे।
बराहक्षेत्रलाई केन्द्रबिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिने योजनासहित तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको बराहक्षेत्र मन्दिर नजिकै पहाड र तराईको मुख्य नाका स्थापना गरेपछि यहाँ बस्ती बस्न थालेकाे हाे।
वर्षायाममा बराहक्षेत्र मन्दिर क्षेत्रमा रहेको सय घरधुरी र त्यहीँ छेउको शिलपाखा गाउँमा भएको ३० घरधुरी प्रत्यक्ष प्रभावित छ। तलबाट बग्ने सप्तकोशी नदीले बराहक्षेत्र तर्फ नै कटान गरिरहेको छ भने उत्तर बग्ने कोकाहको बगर पनि फैलिँदै गएको छ। जसले मन्दिर र त्यहाँका बासिन्दाको सुरक्षा जोखिम बढेको छ।
मन्दिरको किनारामा बगिरहेको सप्तकोशीले प्रत्येक वर्ष जमिन कटान गर्दा मन्दिर क्षेत्र त जोखिममा छ नै। मन्दिरसँगै त्यहाँ फूलमालाको व्यापार व्यवसाय गर्दै आएका स-साना व्यवसायीहरू पनि जोखिममै छन्।
व्यवसायीहरूलाई लाग्छ, ‘वर्षायाम त कहिल्यै नआए पनि हुने नि! न व्यापार हुन्छ, न आनन्दले सुत्न नै पाइन्छ।’
त्यसमा पनि बराहक्षेत्र पुग्ने बाटो वर्षा सुरू भएसँगै पहिरो खस्दा अवरोध हुन्छ। यसले त झन् स्थानीयलाई दिनुसम्मको पीडा दिएको छ। कोशी पुलदेखि बराहक्षेत्रसम्म झन्डै ४ किलोमिटरको दूरी छ। तर, बाटो कच्ची हुँदा पानी पर्नासाथ हिल्लामे हुन्छ। ठूलो पानी पर्दा त पहिरो खसेर आवतजावत नै रोकिन्छ।
स्थानीय राजु घिमिरे भन्छन्, ‘माथि हेर्दा भीर छ, तल हेर्दा सप्तकोशी नदी, अनि कसरी हिँड्ने आँट आउँछ र!’
बराह क्षेत्रमै अस्पतालको उपलब्धता नहुँदा सामान्य उपचारका लागि समेत सात किलोमिटरको दूरीमा रहेको चतरा लैजानुपर्छ। चतरा-बराहक्षेत्र बाटोको दीर्घकालीन समाधान नहुँदा उनीहरू यो समस्या वर्षौंदेखि झेल्दै आएको घिमिरे बताउँछन्।
यस क्षेत्रमा विद्यालय पनि ती कक्षा सम्म मात्रै छ। तीन कक्षाभन्दा माथि पढ्न चतरा धाउनुपर्छ। वर्षामा यहाँका विद्यार्थीहरूको पढाइसमेत प्रभावित हुन्छ।
‘पानी परेपछि स्कुल पठाउने कि नपठाउने भनेर सोच्नुपर्छ’, घिमिरे भन्छन्।
बाटोको सुविधा नहुँदा वर्षायाममा पर्यटकहरूकाे संख्या घट्छ। त्यसको प्रत्यक्ष मारमा त्यहाँ रहेका साधु-सन्तरू छन्। पर्यटकको आवागमनमा कमी हुनासाथ उनीहरूको खानपानमा प्रभाव पर्ने गरेको छ।
बाटोकै कारण पर्यटक लाखौं गुमाउँदै बराहक्षेत्र
धरतीको पहिलो धाम भनिएको बराहक्षेत्र मन्दिर जाने बाटोको समस्या हुँदा लाखौं पर्यटक गुमिरहेका छन्। बराहक्षेत्रसम्म पुग्नको लागि राम्रो सडक पूर्वाधारको अभावका कारण पर्यटक तथा भक्तजनहरूलाई कठिनाइ छ।
जेठ १५ देखि कात्तिके मेलासम्म डेढ लाख पर्यटक बाटोकै कारण आउन नसकेको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्याय समेत रहेका घिमिरे बताउँछन्।
‘सधैँजसो श्रावणको बोलबम मेलामा बराहक्षेत्र मन्दिरले पर्यटक गुमाउँछ, अस्ति कुम्भमेलाको १ महिने अवधिमा पनि १० लाखजति भक्तजन बाटोकै कारण दर्शन गर्न आउन मान्नु भएन’, उनी थप्छन्।
कोशी पुलबाट ४ किलोमिटर उत्तरमा रहेको बराहक्षेत्र मन्दिर पुग्नलाई कालोपत्रे सडक छ। तर, नाम मात्रको। बर्खाको समयमा लगातार पहिरो खस्दा भक्तजन र पर्यटकलाई सास्ती हुने गरेको वर्षौं भइसक्यो। साँघुरो सडक, त्यसमा पनि बेलाबेलामा पहिरो खसिरहने कारण दैनिक बराहक्षेत्र पुग्ने सयौं नागरिकले दुःख पाइरहेका छन्।
मन्दिर आवत जावतमा समस्या नहोस् भनेर २४ घण्टा नै डोजरको व्यवस्था पनि नभएको होइन। जुन सडक डिभिजनका कर्मचारीहरू मार्फत अवरुद्ध बाटो खुलाउन परिचालन हुने गरेको छ।
तर, निरन्तर पहिरो गइरहने हुँदा स्वास्थ्यलाई पर्नसक्ने असरको मध्यनजर गर्दै पहिरो खस्नासाथ डोजर लगाएर बाटो अवरोध हटाइहाल्न नसकिने सडक डिभिजन बिराटनगरकी इन्जिनियर शितल पराजुलीले बताइन्।
‘फुस्रो माटो भएकाले पानी आउनेबित्तिकै ब्लक भइहाल्ने समस्या छ, तर हाम्रोतर्फबाट पहिरो अवरोध हटाउने कार्य भइरहेकै छ’, उनले उकेरासँग भनिन्।
त्यसो त पछिल्लो समय सप्तकोशीमा चलेको जेटबोटबाट पनि मन्दिर पुग्न सकिन्छ। तर, बर्खामा बाढीका कारण कोशीमा बोट सञ्चालन हुँदैन।
तीर्थयात्रीहरूको बाक्लो ओहोरदोहोर हुने याे सडक हुँदै मन्दिरमा सवारीकाे समेत चाप हुने गरेकाे छ। तर, सडक चाैँडा नहुँदा दुई वटा गाडी सहजै वारपार गर्न सक्दैनन्।
‘बाटो फराकिलो हुँदा सबैलाई फाइदा हुन्छ, यसको दीर्घकालीन समाधानका लागि १० मिटरजति चौडा हुनुपर्छ। अहिले ५ मिटरमात्रै छ’, चतरा- बराहक्षेत्र हेर्ने सडक डिभिजन बिराटनगरका इन्जिनियर हरि मण्डलले भने।
गत वर्ष ब्रम्हनन्द खोलामाथि पक्की पुल बनेपछि मन्दिर नजिकको ट्याक्सी स्टेण्डसम्म सवारीसाधन पुग्न थालेको छ। त्यसअघि, ब्रम्हनन्द खोलामा काठको कच्ची पुल हुँदा पुल वारीसम्म मात्रै गाडी जान्थ्यो। त्यहाँबाट करिब डेढ किलोमिटरसम्म पैदल हिड्नुपर्ने हुन्छ।
वर्षौंदेखि यो बाटो समाधानका लागि करोडौं रूपैयाँ लगानी भइसकेको छ। तर, अवस्था फेरिएको छैन। संघीय सरकार अन्तर्गतको सडक विभागको चालू आर्थिक वर्ष अन्तर्गत सडक डिभिजन बिराटनगरले ३ करोड २० लाखको बजेटमा अहिले पनि काम गरिरहेको छ। जसमा जाली लगाउने, ड्रेन सफा गर्ने र बनाउने अनि बाटो सफा गर्नुपर्ने छ।
यो बाटोको दीर्घकालीन समाधान गर्न सम्भव रहे पनि खर्च धेरै बजेट आवश्यक रहेको इन्जिनियर मण्डल बताउँछन्। उनका अनुसार सिन्धुलीको जस्तै प्रविधिले यसको दीर्घकालीन समाधान गर्न सकिन्छ। तर, त्यसका लागि प्रतिकिलोमिटर २० करोड भन्दा बढीको बजेट आवश्यक हुन्छ।
यस क्षेत्रका कोशी प्रदेश सांसद विजयकुमार राईले पनि यसको दीर्घकालीन समाधानका लागि संघीय सरकार र दात्री निकायले सहयोग गर्नुपर्ने बताए। उनले आफ्नो तर्फबाट संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत जनाए।
असार ३०, २०८१ आइतबार ०७:१४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।