सिमलताल पहिरो : बालुवामा पुरिएको र तैरिएको अवस्थामा २ वटा शव भेटियो, बेपत्ताको खोजी जारी

सिमलताल पहिरो : बालुवामा पुरिएको र तैरिएको अवस्थामा २ वटा शव भेटियो, बेपत्ताको खोजी जारी

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसको खोजी कार्य शनिबार दिनभर जारी छ। 

बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ।

शव र बस फेला नपरेपनि भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा दुइवटा शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको एउटा शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ। एउटा शव बालुवामा पुरिएको अवस्थामा र अर्को शव तैरिएको अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए। 

'शव घोप्टो परेको अवस्थामा भेटिएको छ। शवको साथमा कागजात आधारमा भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ। उनी बेपत्ता बसमै यात्रारत थिए भन्ने कुरा आएको छ। अझै अध्ययनका क्रममा छौं,’ प्रहरी नायब उपरीक्षक रिजालले भने।

उनका अनुसार एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ। अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ।

भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेको बताइएको छ। काठमाडौँबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो।

सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन्। 

शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए। दुवै बसमा गरी करिब ६५ यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए।

असार २८, २०८१ शनिबार १८:४०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।