जसले बुहारीको पुछिएको सिउँदो फेरि रंगाइदिए!

जसले बुहारीको पुछिएको सिउँदो फेरि रंगाइदिए!

बुटवल : श्रीमानको मृत्यु भएपछि विधवा भएकी बुहारीलाई अझै पनि दोस्रो बिहे गरिदिनेबारे धेरै अभिभावकहरूले सोच्दैनन्। कतिपयले छोरी समान बनाएर राख्छु भनेपनि व्यवहारमा यस्तो देखिंदैन। छोराको मृत्युको कारक बुहारीलाई बनाउने र बुहारी घरभित्रै हिंसाको सिकार बन्ने गरेका प्रशस्त उदाहरण छन्।

तर, समाजमा पछिल्लो समय बुहारीलाई दोस्रो विवाह गरिदिने जमात पनि बढ्न थालेको छ। बुहारीलाई मात्र हैन, केही समयअघि कलाकार आयुष्मान देशराज जोशीले बुवा नभएपछि आमाकोसमेत दोस्रो विवाह गराए। 

बद्री पंगेनीको गीतझैं विवाहपछि श्रीमान नरहे पनि महिलाहरूले 'लाउ चेली सिन्दुर लाउ, निको पार हृदयको घाउ' लाई व्यबहारत: उतार्न थालेका छन्। 

यासैमेसोमा विधवा बुहारीलाई कन्यादान दिएर समाज परिवर्तनका अगुवा पनि बनेका मध्येका एक हुन्, कपिलवस्तु शिवराज नगरपालिकास्थित चन्द्रौटाका घनश्याम पौडेल।

उनले छोराको मृत्युपछि विधवा भएकी बुहारीलाई छोरीसरह मानेर पुन: अर्को विवाह गरिदिएका छन्। समाजमा व्याप्त रुढीवादीका कारण पतिको मृत्युपछि आजीवन विधवा बस्ने प्रवृत्तिलाई घनश्यामले खुल्ला चुनौती दिए।

घनश्यामका जेठा छोराको तीन वर्षअघि ब्रेन टुयुमरबाट मृत्यु भयो। आईटी इन्जिनियर रहेका घनश्यामका छोरा दिपकले चन्द्रौटाकै पूजा भट्टराईसँग हिन्दु परम्परा अनुसार ९ वर्षअघि बिहे गरेका थिए।

छोराको मृत्युपछि पूजालाई आजीवन विधुवा राख्न घनश्यामको मनले मानेन। त्यसपछि केटा खोजेर बिहे गरिदिने निर्णयमा पुगे। यसमा श्रीमती जालपाले पनि घनश्यामलाई साथ दिइन्।

पूजाका मावल तर्फका हजुरबुबाले केटाको कुरा लिएर आए। नभन्दै पूजा पनि बिहे गर्न राजी भइन्। अनि रुपन्देहीको सैनामैनास्थित रानिबगियाका दिपक पौडेलसँग पूजाले लगनगाँठो कसिन्।

संयोग पनि त्यस्तै, पूजाले दोस्रो विवाह गरेका दिपक पौडेलको नाम र थर पहिलो श्रीमानसँग मेल खाएको छ।

‘मैले समाजलाई परिवर्तन होस भन्ने उद्देश्यका साथ यो निर्णय गरेर बुहारीको कन्यादान दिएको हुँ। समाजमा परिवर्तनको खाँचो पनि छ,’ घनश्यामले भने। 

उनले छोरा गुमाएको पिडा भएपनि बुहारीको सुन्दर भविष्य सोचेरै घरबाट अन्माएको बताए।

परिवारले बिहे गदिएपछि पूजाले पनि आफूले पुनः जन्म पाएको भन्दै खुसी व्यक्त गरिन्। 

‘म यो घरमा बुहारी भएर भित्रिए अनि आज छोरी भएर विदाई भए। म आफूलाई भाग्यमानी ठानेकी छु,’ उनले भनिन्। 

पूजाका नवदुलाहा दिपक वैदेशिक रोजगारमा संलग्न छन्। उनको पनि यो दोस्रो विवाह हो। पहिलो पत्नीसँग कानुनी रूपमा अलग हुनु परेपछि पूजासँग उनले दोस्रो विवाह गरेको परिवारले बताएको छ।

पूजाको पहिलो श्रीमान्बाट एक छोरीको जन्म भएको छ। ९ बर्षकी पूजाकी छोरी अहिले घनश्यामकै घरमा बस्दै आएकी छिन्।

घनश्यामजस्तै अर्का पात्र पनि छन्, जसले श्रीमान गुमाएकी बुहारीलाई पुन: अन्माइदिए। 

गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतम पनि बुहारीलाई कन्यादान दिने मध्येका एक हुन्।

तीन वर्षअघि करेन्ट लागेर २७ वर्षीय छोरा धुब्रको मृत्यु भयो। छिमेकीको घरमा पङ्खा बिग्रिएपछि बनाउन गएका थिए धुब्र। त्यहिबेला विद्युत् सट भएर उनलाई करेन्ट लाग्यो। उपचारका लागि बुटवलस्थिल लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा उनको बाटोमै बाटोमै निधन भएको थियो।

ध्रुबका बुवाआमालाई छोरा गुमाउँदा जति पीडा भयो, त्यत्तिकै पीडा उनकी श्रीमती धनालाई पनि हुनेनै भयो। श्रीमान्को मृत्युपछि धनाले लामो समय एक्लो जीवन कटाइन्। 

तर, अहिले छोराको मृत्युपछि परिवारमा बज्रपात परेपनि लक्ष्मीघरले बुहारी धनाको दोस्रो विवाह गराइदिए। उनले बुहारी धनाको भविष्यका लागि सैनामैना रामापुर कलौनीका अमृत पौडेलसँग कन्यादान दिएर अन्माएका छन्। 

‘२०७४ मा झापाको बिर्तामोडकी धनासँग उनको प्रेम विवाह भएको थियो। २७ बर्षको कलिलो उमेरमा धनाको सिउँदो पुछियो। अब पिडा मात्र सहेर हुँदैन भनेर बिहे गरिदिएका हौ,’ उनले भने। 

लक्ष्मीधरले बुहारीकै सुख र उज्वल भविष्यका लागि कन्यादान दिएको बताए।

‘उनको खुसी हाम्रो खुसी हो। बाबु गुमाउँदाको पीडा भुलेर बुहारीलाई छोरी बनाएर अन्माए', उनले भने।

विवाह भएपछि धुब्र र धनाबाट बालबच्चा भने जन्मिएका थिएनन्।

धनाले दोस्रो बिहे गरेका अमृत साउदी अरेवियाको एक कम्पनी काम गर्छन्। अमृतको पनि यो दोस्रो विवाह हो। उनी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बसेका बताइएको छ। 

असार २८, २०८१ शनिबार १७:३७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।