वाटर ड्रोनसहित गोताखोरले पनि फेला पार्न सकेनन् बस र यात्रु, छोरीको उपचारका लागि काठमाडौँ आउँदा तीनै जना बेपत्ता

वाटर ड्रोनसहित गोताखोरले पनि फेला पार्न सकेनन् बस र यात्रु, छोरीको उपचारका लागि काठमाडौँ आउँदा तीनै जना बेपत्ता

काठमाडौँ : पहरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको यात्रुसहितको दुई सवारीसाधनमा फेला पार्न शुक्रवार दिनभरको प्रयास सफल भएन। बाढीका कारण तीव्र गतिमा रहेको पानीको रफ्तार अनि धमिलो पानीका कारण खोजीमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी अनि नेपाल प्रहरीको दुई सय बढी जनशक्तिले न यात्रु फेला पारे न त बस नै। 

भाग्यले बाँचेका तीन यात्रुलाई उपचारका लागि अस्पताल पठाएको टोली शुक्रवार असफल भए पनि शनिवार बिहान ८ बजेबाट पुन खोजीमा खटियो। 

शनिवार टोली खटिँदा पानीभित्रको २० मिटरसम्मको दृश्य देखिने सोनार क्यामरा, वाटर ड्रोन अनि पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीमा सक्रिय भए पनि अझैँ दुवै यात्रुवाहक सवारीसाधन फेला परेको छैन। 

शुक्रवार प्रविधिसँगै सशस्त्र प्रहरीमा रहेका तालिम प्राप्त गोताखोरहरू यात्रुवाहक बस र यात्रुको खोजीमा सक्रिय छन्। तर सफल भएका छैनन्। 

यात्रु बाहक बस र हराइरहेका यात्रु खोज्न सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति खटिएको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले उकेरालाई जानकारी दिए। सशस्त्रको जनशक्तिलाई नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीले समेत सघाइरहेका छन्। 

बिहीबार बिहान तीन बजे वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस सिमलताल नजिकैको पहिरोमा परेर खोलामा खसेको थियो। 

दुवै बसमा सवार यात्रुको सङ्ख्या करिब ६० हाराहारी र चालक दलसहित ६४ जना रहेको देखिन्छ। यसमध्ये बस पानीमा डुब्दै गर्दा हुत्तिएर नदीमा आइपुगेका तीन जना जीवितै फेला परे। अन्यको अवस्था खुल्न सकेको छैन। 

छोरीको उपचारका लागि काठमाडौँ आउँदा तीनै जना बेपत्ता 

बससँगै एन्जल डिलक्स बसका चालक जवाहिर महतो बेपत्ता छन्। वीरगन्ज महानगरपालिका–१६, नगवाका उनी २० वर्षदेखि सवारी चलाउँदै आएका थिए। उनले चलाएको एन्जल डिलक्स बसमा २४ जना यात्रु थिए। तीन जना बसका कर्मचारी थिए। 

बसमा प्रसौनी गाउँपालिका–२ जमुनियाका हृदयनारायण चौधरी थारु, उनको श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा थिए। चन्द्रप्रभा बिरामी भएपछि उनीहरू खेत बन्धकी राखेर उपचारका लागि काठमाडौँ आउँदै थिए। तीनै जना बेपत्ता छन्। 

सखुवा प्रसौनी गाउँपालिका श्रीपुरको अस्पतालका रेडियोग्राफर सृष्टि यादव र ल्याबअसिस्टेन्ट रैफुल अन्सारी समेत बेपत्ता छन्। वीरगन्ज बसपार्कका रवीन दुबे, रघुनाथपुरका सलिम मियाँ र उनको श्रीमती जैनब खातुन, प्रकाश पटेल सहित सात  भारतीय नागरिक समेत बेपत्ता छन्। 

काठमाडौँबाट गौर हिँडेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा ४० भन्दा बढी यात्रुहरू रहेको बताइएको छ। 

असार २८, २०८१ शनिबार १४:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।